
काठमाडौं ।
तीन हप्तादेखि बझाङ्ग जिल्लाको साइपाल गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि स्थानीय तीन दिन पैदल हिँडेर फोन गरिरहेका छन्।
मस्टा गाउँपालिका–५, रिलुको भकुण्डेमा रहेको नेपाल टेलिकमको टावरमा स्थानीय भरत उखेडाले तोडफोड गरेपछि टेलिफोन सेवा विच्छेद भएको हो। बझाङ जिल्लाको उत्तरी क्षेत्र साइपाललगायतका स्थानीयवासीले फोन गर्न सास्ती भएको छ।
स्थानीय मानबहादर बोहराले भने, “गाउँमा बिरामी हुँदा, अत्यावश्यक काम पर्दा समेत सम्पर्क गर्न निकै समस्या छ।”
नेपाल टेलिकम बझाङका निमित्त प्रमुख बमबहादर सिंहले टेलिकमको क्षेत्रीय कार्यालयलाई समेत पत्राचार गरिसकेकाले मर्मत हुन केही दिन लाग्ने बताए।
टावर तोडफोड गर्ने स्थानीय भरत उखेडाको मानसिक अवस्था ठीक नभएको बताइएको छ। साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले टेलिकमको केन्द्रीय कार्यालयसम्म पुगे पनि तोडफोड गर्नेलाई कारबाही नगर्दासम्म टेलिफोन सेवा सञ्चालन नहुने बताएपछि निराश भएको बताए।
टावरका सोलार पाता, तार ब्याट्रीलगायतका सामग्री तोडफोड गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले ताडफोड गर्नेविरुद्ध किटानी आएपछि कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए। गोरखापत्र
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार