
काठमाडौं ।
भारत सरकारले भारतको सुरक्षालाई खतरामा पार्ने थप ५४ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाउने भएको छ। भारत सरकारले भारतको सुरक्षामा खतरा हुने ५४ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाउने स्रोतलाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
५४ चिनियाँ एपहरूमा ब्यूटी क्यामरा: स्वीट सेल्फी एचडी, ब्यूटी क्यामरा – सेल्फी क्यामरा, इक्वलाइजर र बास बूस्टर, क्यामकार्ड फर सेल्सफोर्स इन्ट, आइसोल्यान्ड २: एशेज अफ टाइम लाइट, भिभा भिडियो एडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस, ओन्मायोजी एरिना, एपलक, डुअल स्पेस लाइट समावेश रहेको रिपोर्टमा उल्लेख छ।
यसअघि जुन २०२० मा, भारतले सार्वभौमसत्ता र सुरक्षालाई खतरालाई ध्यानमा राख्दै टिकटक, वीच्याट, र हेलो जस्ता देशभित्र व्यापक रूपमा प्रयोग हुने सोशल मिडिया प्लेटफर्महरू सहित ५९ चिनियाँ मोबाइल एपहरूमा प्रतिबन्ध लगाएको थियो।
मिडियाहरुकाअनुसार जुन २९ को आदेशमा प्रतिबन्ध लगाइएका अधिकांश एपहरूलाई गुप्तचर निकायहरूले प्रयोगकर्ताको डाटा सङ्कलन गर्ने र सम्भवतः “बाहिर” पठाउने चिन्ताका कारण रेड फ्ल्याग लगाएका थिए।
चीनसँगको सीमा तनावको बीचमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक र अनिश्चित संख्यामा चिनियाँ सैनिकको मृत्यु भएपछि यो कारबाही भएको थियो।
पछि सेप्टेम्बरमा, भारत सरकारले ११८ चिनियाँ मोबाइल एपहरू माथि रोक लगाएको थियो।
तर, चीनले चिनियाँ मोबाइल एप्समाथिको प्रतिबन्ध जारी राख्ने भारतको निर्णयको विरोध गर्दै यो कार्य विश्व व्यापार संगठनको गैर-भेदभावपूर्ण सिद्धान्तको उल्लङ्घन भएको बताउँदै आएको छ।
प्रकाशित: २ फाल्गुन २०७८, सोमबार