
काठमाडौं ।
-नारायणप्रसाद काफ्ले, उप प्रबन्धक, प्रादेशिक निर्देशनालय, काठमाडाैं
विश्वका दूरसञ्चार सेवा प्रदायकहरुले पूर्वार्द्धमा भ्वाइस सेवा तारसहितको सुरुवात गरेका थिए। त्यस्तै, नेपाल टेलिकमले पनि आफ्नो इतिहास वि.सं. २००५ सालमा ‘मोहन आकाशवाणी’ नामबाट प्रारम्भ गरेको थियो।
वि.सं. २०६१ सालमा कम्पनीमा परिणतपछि ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ भएको छ। यस कम्पनीले भ्वाइस सेवामात्र दिन प्रारम्भमा १०० लाइनको क्रसबार एक्सचेञ्ज (Cross Bar exchange) सन् १९५० मा काठमाडौंमा स्थापना भएको थियो।
तारसहितको दूरसञ्चार सेवा प्रारम्भमा तामाको तारबाट सुरु भएको र नेपालको सन्दर्भमा सन् १९९५ मा अप्टिकल फाइबर केबल (Optical Fibre Cable) भित्रिएको देखिन्छ।
तारसहितको नेटवर्कबाट नेपाल टेलिकमले भ्वाइस तथा इन्टरनेट सेवा सन् २००० मा सुरु गरेको थियो।
उक्त समयमा एडीएसएल (ADSL) प्रविधिबाट तामाको तारबाट भ्वाइस तथा इन्टरनेट सेवा ग्राहक वर्गमा वितरण गरिएको थियो। बिस्तारै–बिस्तारै पुरानो हुँदै गएपछि तामाको तारको गुणस्तर खस्कँदो क्रममा जान थालेपछि क्षति कम हुने धेरै ब्याण्डविथ (Bandwidth) बहन गर्न सक्ने अप्टिकल फाइबर (Optical Fiber) तारको प्रयोग हुनेगरी नेपाल टेलिकमले सन् २०१५ फाइबर टू द होम (Fiber To The Home) सेवा सुरुवात गरेको थियो ।
तर, नेपालको इन्टरनेटसम्बन्धी ‘दूरसञ्चार नीति सन ‘१९९७’ लागू हुनुपूर्व नै इन्टरनेट सेवाप्रदायक मर्कन्टाइलले सन् १९९५ मा नै डायल अप (Dial Up) सेवा प्रारम्भ गरेको देखिन्छ।
बिस्तारै–बिस्तारै हाल आएर ४० भन्दा बढी इन्टरनेट सेवाप्रदायकहरुले नेपाल राज्यभरि इन्टरनेट सेवा पुर्याइरहेका छन्, जसमध्ये नेपाल टेलिकम, मर्कन्टाइल, वर्ल्डलिंक, सुबिसु, भायनेट आदि मुख्य इन्टरनेट सेवा दिने कम्पनी रहेका छन्।
यस कम्पनीले हालसम्म करिब ७ लाख ल्याण्डलाइन (Landline)र करिब २ लाख एडीएसएल (ADSL) सेवा लिएका ग्राहकहरुलाई बिस्तारै– बिस्तारै कपर नेटवर्क (Copper Netework)बाट फाइबर नेटवर्क (Fiber Network) मा विस्थापित गर्ने कार्य गरिरहेको छ।
हालसम्मको जनशक्ति कपर नेटवर्क (Copper Network) मा मात्र अभ्यस्त भएका र बढुवाहुँदै जाँदा उमेरले पनि फाइबर (Fiber) मा कार्य गर्न सक्षम नभएका प्राविधिक कर्मचारीहरुको सङ्ख्या बढी भएको र नयाँ सहायकस्तरको प्राविधिकहरु पदपूर्ति नभएको हुनाले कपर नेटवर्क (Copper Network) बाट फाइबर नेटवर्क (Fiber Network) मा लाइन विस्थापित गर्न चुनौती भएको देखिएको छ।
साथै, ग्राहकहरुको इच्छाअनुसार एउटै फाइबर (Fiber) तारबाट भ्वाइस, इन्टरनेटका साथै आईपीटीभी (IPTV) पनि गत जनवरी १, २०२१ देखि नेपाल टेलिकमले सुरुवात गरिसकेको छ। यस कम्पनीले निम्नानुसारको सेवा यही आ.व. २०७८/०७९ मा वितरण गरिसकेको छ:


नेपाल टेलिकमको सञ्चार मेरुदण्ड भनेको अहिलेको विश्वव्यापीकरणमा वायरलेस (Wireless) अर्थात ताररहित सेवा मोबाइल कम्युनिकेशन (Mobile Communication) नै हो । तथापि, कुनै कम्पनीले सेवाहरु विविधिकरण गरेर वितरण गर्ने हो भने अवश्य नै उक्त कम्पनीको आर्थिक अवस्था सबल हुने र वायरलेस र वायर्ड सेवाहरुले एक–अर्काको आर्थिक अवस्थामा परिपूरक हुने देखिन्छन्।
यसरी हेर्दा हालको नेपाल टेलिकमले वितरण गरेको एफटीटीएच सेवाको स्वट एनालाइसिस (SWOT Analysis) गर्दा निम्नानुसार देखिन्छ:
सबल पक्षहरु
१. पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरदेखि दक्षिण नेपाल राज्यभरि फैलिएको यस कम्पनीको अप्टिकल फाइबर ब्याकबोन (Fiber Backbone) भएकोले जुनसुकै ठाउँमा पनि अन्डरग्राउण्ड ओएफसी (Underground OFC), एडीएसएस (ADSS) र ओपीजीडब्लू (OPGW) बाट एएफ६ एफटीटीएच (af6 FTTH) सेवा सञ्चालन गर्न सकिन्छ।
२. अन्य आईएसपी (ISP)हरुको जस्तो अव्यवस्थित जीआईएस सिस्टम नभएर यस कम्पनीको एफटीटीएच नेटवर्कको जीआईएस सिस्टम (GIS System) व्यवस्थित भएको हुँदा फाइबरको व्यवस्थितरुपले प्रयोग हुनेछ।
३. जुनसुकै शहर अथवा क्षेत्रमा फाइबर नेटवर्कको पहुँच पहिले नै भइसकेकोले थप नेटवर्क बनाउन बढी खर्च लाग्ने देखिन्न।
४. एक्सेस नेटवर्क इक्विपमेन्ट प्रयोजनका लागि प्रयोगमा ल्याइसकेका स्थानहरु नै हालको ओएलटी (OLT)राख्न प्रयोग हुने र कपर नेटवर्क (Coper Network) को क्याबिनेट राखेको ठाउँ नै एफडीसी (FDC)राख्नेगरी धेरै ठाउँमा योजना बनाई कार्यान्वयन गर्न सकिन्छ, जसले गर्दा योजना बनाउन र कार्यान्वयन गर्न सरल हुन्छ।
५. सरकारी कम्पनी भएकोले जनमानसमा नेपाल टेलिकमप्रति सकारात्मक भावना रहेको र यसै कम्पनीको सेवामा विश्वास रहेको छ।
कठिनाइहरु
१. तारसहितको नेटवर्क बनाउन खर्चिलो तथा झन्झटिलो हुने। विभिन्न निकाय जस्तै– सडक विभाग, विद्युत प्राधिकरण, खानेपानी आदिसँग समन्वय गर्नुपर्ने।
२. कपर नेटवर्क (Copper Network)को कार्यान्वयन र वितरणमा अभ्यस्त पुराना प्राविधिक कर्मचारीहरुलाई अप्टिकल फाइबरजस्तो कार्यमा लगाउन ज्यादै कठिन र उक्त प्राविधिकहरुको कार्यक्षमता कमजोर भइसकेकोले अप्टिकल कार्यजस्तो गराउन कठिन हुने। त्यसैले समयमा ग्राहक संख्या थप गर्न गाह्रो भएको।
३. योजनाअनुरुपको आयोजना समयमा कार्यान्वयन नहुँदा कपरबाट फाइबरमा समयमा माइग्रेशन गर्न नसक्दा ग्राहक टिकाइराख्न गर्न गाह्रो हुने। माइग्रेशन गर्ने लाइनजतिको क्षमताको होम पास नेटवर्क (Home Pass Network)बन्न नसक्दा नयाँ ग्राहक र पुराना ग्राहकलाई एफटीटीच दिन गाह्रो हुने।
४. कपर नेटवर्क जस्तो भ्वाइसका लागि सेन्ट्रल पावर फीडिङ (Central Power Feeding) हुँदा सिटी सप्लाइ (City Supply) नहुँदा पनि भ्वाइस चल्ने गरेको तर एफटीटीएच नेटवर्कमा ग्राहकको घरमा राखिएको सीपीई (CPE), डीएफ (DF) लोकल पावर दिएमा मात्र भ्वाइस तथा अन्य डाटा र आईपीटीभी चल्ने भएको।
५. ग्राहकको लाइन इन्स्टलेसन, माइग्रेशन तथा मर्मतसम्बन्धी डाटाहरु वन विण्डो सिस्टम (One Window System)बाट हेर्न सकिने व्यवस्था नभएकोले समयमा बिक्रीपछिको सेवा सम्पन्न हुन नसक्नु।
६. एफटीटीएच नेटवर्क बनाउनदेखि लिएर एफटीटीएच लाइन वितरण गर्न आवश्यक ओडीएन इक्विपमेन्ट(ODN Equipoment), अप्टिकल फाइबर केबल, एफएपी(FAP), ड्रप फाइबर केबल तथा सीपीई (CPE)समयमा खरिद हुन नसक्दा नेटवर्क कार्यान्वयन तथा लाइन वितरणमा ढिलाइ हुने गरेको।
अवसरहरु
१. सरकारी एकमात्र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम भएकोले जनमानसमा सकारात्मक भावना भएकोले जुनसुकै सेवा सुरुवात गरे पनि ग्राहकले विश्वास गरी सेवा लिने गरेको।
२. नेपाल राज्यभरि फैलिएको अप्टिकल फाइबर सञ्जाल र एफटीटीएच नेटवर्कबाट ग्राहकलाई सेवा दिन सकिने र अन्य आईएसपीहरुलाई लिज इन्टरनेट सेवा दिन सकिने तथा डार्क कोर फाइबर भाडामा दिन सकिने।
३. सञ्चारको ब्याकहल अप्टिकल फाइबर नेटवर्क (Backhaul Optical Fiber Network) प्रायः हरक ठाउँमा पुगेको हुँदा एफटीटीएच सेवा सञ्चालन गर्न सजिलो र कम खर्चिलो हुने हुँदा समय–सापेक्ष एफटीटीएच सेवाको समय–सापेक्ष समीक्षा गरी कम रेन्टल (Rental)मै डाटा तथा अन्य सेवा दिन सकिने।
४. नेपाल भौगोलिक दृष्टिकोणबाट विकट भएकोले अन्य आईएसपीहरुले मल्टि-हब बनाएर सञ्चार सेवा दिन कठिनाइ हुने हुँदा नेपाल टेलिकमले आफ्नो ट्रान्समिसन ब्याकबोन (Transmission Backbone) प्रयोग गरी साना–साना शहर तथा सदरमुकाममा एफटीटीएच वितरण गर्न सक्ने, जसले गर्दा ग्राहक सङ्ख्या बढ्न गई कम्पनीको आम्दानी बढ्ने तथा साख रहने।
चुनौतीहरु
१. समयमा योजना बनाउन नसकेमा र उक्त बनेका योजना समयमा कार्यान्वयन गर्न नसकेमा भइरहेको ग्राहकहरु एफटीटीएचमा माइग्रेशन गर्न नसकी अन्य आईएसपीमा जान सक्ने।
२. अन्य आईएसपीको तुलनामा जडान तथा बिक्रीपछिको सेवा राम्रो राख्न सक्नुपर्ने।
३. अन्य आईएसपीको शुल्कका तुलनामा सस्तो र गुणस्तरीय सेवा एफटीटीएचबाट वितरण गर्नुपर्ने। समय–सापेक्ष विभिन्न अफरहरु ल्याई ग्राहकहरुलाई आकर्षण गराउनुपर्ने।
४. तामाको तारसम्बन्धी कार्य गरेका प्राविधिकहरुलाई अप्टिकल फाइबर नेटवर्कमा काम लगाएर सेवा चुस्तदुरुस्त राख्न चुनौती भएको।
५. सात लाख पीएसटीएन तथा २ लाख एडीएसएललाई एफटीटीएचमा माइग्रेशन गर्न र नयाँ ग्राहक थप गर्न हालको प्राविधिक जनशक्तिबाट सम्भव नहुने हुँदा आउटसोर्स (Outsource)बाट कार्य लगाउन चुनौती हुने।
६. एफटीटीएच सेवा बिक्री–वितरण गर्ने कार्य आउटसोर्सबाट लगाउने कार्य भएपश्चात् यस कम्पनीमा कार्यरत प्राविधिकको कार्य व्यवस्थापन गर्न चुनौती हुने।
प्रस्तुत यस कम्पनीको एफटीटीएच सेवासम्बन्धी ‘स्वाट एनालाइसिस’गर्दा सेवालाई गुणस्तरीय तरिकाले सञ्चालन गर्न कम्पनीलाई चुनौती देखिएतापनि अबको सञ्चारजगत् नै अप्टिकल फाइबरमा नै निहित हुने हुँदा एफटीटीएच विस्तार र यसको प्रवर्द्धन गर्नु नै आजको आवश्यकता हो र हालको एफटीटीएचको आम्दानी हेर्ने हो भने कार्तिक २०७८ महिनामा जम्मा करिब रु. १६ करोड उठेको देखिएको र भविष्यमा थप हुँदै जाने विश्वासका साथ यस सेवाको गुणस्तर अभिवृद्धि गर्दै ग्राहकलाई सस्तोमा सेवा दिने लक्ष्य राखी सबैले आफ्नो–आफ्नो स्थानबाट कम्पनीलाई सेवा गर्नु आजको कर्तव्य हो।
यो सम्पादित आलेख नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १८ औं वार्षिकोत्सवको स्मारिका, २०७८ बाट लिइएको हो। –सम्पादक
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार