
काठमाडौं ।
जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा सुरु भएको छ । बिहीबार देखि कुशे गाउँपालिका–५, खुर्पामा बनेको टावर सञ्चालन आएसँगै नमस्ते मोबाइलको सेवा सुरु भएको हो ।
टावर निर्माण भई टेलिफोन सेवा सुचारु भएसँगै वर्षौंदेखिको कुशेवासीको फोन गर्ने सपना पूरा भएको भन्दै स्थानीयवासी खुसी भएका छन् ।
गाउँपालिकाभन्दा बाहिर रहेका आफन्तलाई फोन गर्न अग्लो डाँडा धाउनुपर्ने, रुखमा चढ्नुपर्ने लगायतका समस्याले स्थानीयवासी हैरान भएका थिए । निकै लामो समयको प्रतीक्षापश्चात् नमस्ते मोबाइल नेटवर्क सञ्चालन भएसँगै स्थानीयवासी हर्षित बनेका हुन् ।
त्यस क्षेत्रमा केही वर्षअघि स्काई फोन सेवाले काम गरे पनि सबै स्थानमा काम नहुँदा स्थानीयवासी मर्कामा परेका थिए।
कुशे गाउँपालिकाका अध्यक्ष हरि चन्द्र बस्नेतले नमस्तेको टावर निर्माण भई सेवा सञ्चालन भएसँगै यहाँका स्थानीयवासीमा सुविधा पुग्ने बताए।
नागरिक समाज कुशेका अगुवा हरि बहादुर सिंह वर्षौंदेखि सञ्चारबाट विमुख स्थानीयवासीको फोन गर्नकै लागि अग्ला लेक तथा रुख चढ्ने समस्याबाट मुक्ति पाएको बताए। गोरखापत्र
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार