
काठमाडौं ।
नेपाल टेलिकमले फोरजी सेवामा बिस्तार गरेसँगै कम्पनीको आम्दानी र नाफा दुबैमा सकारात्मक प्रभाव देखिएको छ।
कम्पनीले आज सार्वजनिक गरेको पछिल्लो द्वितीय त्रैमासिकको वित्तीय बिबरणअनुसार कम्पनीले सो अवधिमा २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । जुन यसअघिको सोही अवधिको तुलनामा कुल आय रु. १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात, ६.८७ प्रतिशत) ले वृद्धि गरेको हो ।
गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको कुल आय रु. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेको थियो।
यसका साथै टेलिकमले कुल सञ्चालन आय समेत बढाएर १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ पुर्याएको छ। कम्पनीले गत वर्षको तुलनामा आम्दानीमा रु. १ अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात, ८.३६ प्रतिशत) ले वृद्धि गर्न सफल भएको छ। यसअघि गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेको थियो ।
यसका साथै टेलिकमले कुल सञ्चालन आम्दानी ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुर्याएको छ। कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी ३४ करोड २३ लाख ४९ हजार (अर्थात, ३.७७ प्रतिशत) ले बढाउन सफल भएको हो । गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ रहेको थियो।
यसैगरी टेलिकमले खुद मुनाफा समेत दोस्रो त्रैमासिकमा बढाउन सकेको देखिएको छ। कम्पनीको बिबरणअनुसार चालु आवको दोस्रो त्रैमासिकमा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
यसअघि गत आवको सोही अवधिमा यस्तो मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधिमा ६० करोड ८४ लाख ८१ हजार (अर्थात, १८.४९ प्रतिशत) ले वृद्धि गर्न सफल भएको हो।
कम्पनीले ४जी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको जनाएको छ। यसैगरी २जी/थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत २जी/थ्रीजी र फोरजी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको कम्पनीको दाबी छ।
कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएच मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गरेको छ।
त्यस्तै गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा ईबीआईटीडीए ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रुपैयाँ रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. ७७ करोड ५८ लाख ७३ हजार (अर्थात ९.०१ प्रतिशत)ले वृद्धि भई ईबीआईटीडीए ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ।
मुलुक तथा विश्वव्यापी रुपमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम पश्चात कोभिड १९को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको उल्लेख छ।
कोभिड १९को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको कम्पनीले दाबी गरेको छ ।
कोभिड १९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोशल नेटवर्किङ्ग लगायत आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा, एसएमएस सेवा र भास सेवामा गत आ.व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) को तुलनामा चालु आ. व. को सोही अवधिमा सुधार आएको कम्पनीले जनाएको छ।
प्रकाशित: २९ माघ २०७८, शनिबार