चुनाव अगाडी नै बजेट सक्न सञ्चारमन्त्री कार्कीको मातहत निकायलाई निर्देशन

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
चुनाव अगाडी नै बजेट सक्न सञ्चारमन्त्री कार्कीको मातहत निकायलाई निर्देशन

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नतिजा देखिने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायका अधिकारीलाई निर्देशन दिएका हुन्।उनले चुनाव अगाडी नै बजेट सक्न समेत निर्देशन दिएका हुन् ।

स्थानीय तहको चुनाव आउँदो बैशाख ३० गते गर्ने सरकारले निर्णय गरिसकेको छ।

आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस् या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले यस अवधिमा मन्त्रालय तथा निकायबाट भएको खर्चको अवस्था चित्तबुझ्दो नभएको बताएको गोरखापत्रले समाचार रिपोर्ट गरेको छ।

मन्त्रालयबाट विनियोजन भएको कुल र कममध्ये पहिलो छ महिनामा पुँजीगततर्फ १९.३९ प्रतिशत मात्रै खर्च भएको छ। चालू खर्च भने ६४.४६ प्रतिशत छ। मन्त्री कार्कीले चालू खर्च सन्तोषजनक रहे पनि पूँजीगत चित्त बुझाउन नसकिने अवस्था रहेको बताए।

मन्त्रालयअन्तर्गत १८ वटा निकाय छन्। आम सञ्चार, सूचना प्रविधि, चलचित्र, सुरक्षण मुद्रण, हुलाक सेवा, दूरसञ्चार यस मन्त्रालयका कार्यक्षेत्र हुन् । मन्त्रालयले बजेटमा भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दोस्रो त्रैमासिकसम्ममा सम्पन्न गरिने कामलाई प्रभावकारी बनाउन १०१ वटा ‘माइलस्टोन’ तय गरेको छ । तीमध्ये २८ वटा माइलस्टोनको काम अझै सुरु भएको छैन । हालसम्म ४७ वटा माइलस्टोन सम्पन्न भइसकेका छन् भने २६ वटाको काम सुरु भएको छ।

सञ्चार मन्त्री कार्कीले भने, “माइलस्टोन हासिल गर्न सबै जना लाग्नुहोला । मन्त्रालय र मेरो तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने छ। सरकारको मुहार प्रस्तुत गर्ने मन्त्रालयमध्ये सञ्चार तथा सूचना प्रविधि पनि एक भएकाले यहाँबाट सम्पादन हुने काम जनताले प्रत्याभूत गर्नसक्ने गरी हुनुपर्छ।”

बजेट कार्यान्वयनका लागि मन्त्रालयले तय गरेको कार्यक्रम सम्पन्न गर्न खर्च वृद्धि गर्नुपर्ने बताउँदै उनले भने, “खर्च बढाउन सबैले आ–आफ्नो तर्फबाट इमानदार प्रयास गर्नु जरुरी छ। असारमा पैसा सक्ने गरी हतार हतार कार्यक्रम नगर्नुहोला। सबैको ध्यानाकर्षण गराउँदै फेरि भन्न चाहन्छु, वैशाखभित्रै खर्च गर्नुहोला।”

कार्यक्रम कार्यान्वयनको प्रगति तथा समीक्षा बैठकमा तथ्याङ्क र शब्दजाल मात्रै प्रस्तुत नगर्न उनले निर्देशन दिए। विगतमा कार्यसम्पादनका लागि करार गरेका निकायका प्रमुख तथा अधिकारीको मूल्याङ्कन पनि चित्तबुझ्दो नभएको गुनासो गर्दै उनले भने , “जुन निकायले राम्रो काम गर्नुभयो।उहाँलाई धन्यवाद ! राम्रो काम गर्न नसक्नेले आउने दिनमा इमानदार प्रयास गर्नुहोला।”

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले दोस्रो त्रैमासिकमा आइपुग्दा अन्य मन्त्रालयको तुलनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रगति सन्तोषजनक रहेको बताईन्।

मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालय र मातहतका निकायले बेरुजु फस्र्याेटतर्फ पनि ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा मन्त्रालय सम्बद्ध निकायका अधिकारीले आ–आफ्ना कार्यालयबाट सम्पादन भएका र हुने क्रममा रहेका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...