मलेसियाको नेपाली दूतावासबाट ई-पासपोर्ट सेवा शुरु

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
मलेसियाको नेपाली दूतावासबाट ई-पासपोर्ट सेवा शुरु

काठमाडौं ।

मलेसियामा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी(ई-पासपोर्ट) प्रदान गर्न थालिएको छ। सो नेपाली दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाललाई विद्युतीय राहदानी प्रदान गर्न थालेको हो।

राहदानी विभागकाअनुसार मलेसियामा रहेको दूतावासले मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रहेका र बुधबार राहदानी नवीकरण गर्न दूतावास आइपुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी जारी सुरुवात गरेको जनाइएको छ।

दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ। दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ।

राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ।

विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट कार्यक्रममा भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल पनि सहभागी थिए । अर्यालले मलेशियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिंदै अब मलेशियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने कुरा बताए।

दूतावासका अनुसार मलेसियामा साढे दुई लाख श्रमिक हाल कार्यरत रहेका छन् । यसअघि आइतबार कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी प्रदान गरेको थियो।

त्यस्तै खाडी र मलेसियाबाहेक अन्य देशमा रहेका सबै नेपाली दूतावासमा उपकरण पठाउने काम भइरहेको र केही साताभित्र सेवा सञ्चालन गर्ने राहदानी विभागको तयारी छ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार