
काठमाडौं ।
छिमेकी देश भारतमा एप तथा अनलाइनमार्फत सेवा दिने राइड हेलिङ्ग सेवा कम्पनीहरुले अब अनुमति लिनुपर्ने भएको छ। भारतमा हाल संचालनमा रहेका ओला र उबर जस्ता एपमा आधारित ट्याक्सी अपरेटरहरूको गतिबिधि जाँच गर्न राष्ट्रिय राजधानी दिल्लीमा ड्राफ्ट एग्रीगेटर योजना जारी गरिएको छ।
यसअन्तर्गत एपबाट ५० भन्दा बढी कारको फ्लीट राखेर अनलाइन ट्याक्सी, मोटरसाइकल वा तीनपाङ्ग्रे सेवा दिनेहरूले लाइसेन्स लिनुपर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
योजना अन्तर्गत स्थानीय तहमा सञ्चालन केन्द्र खोल्नु पर्नेछ। उनीहरूले आफ्नो एपलाई भारतीय कानून अनुसार अनुकूलन गर्नुपर्नेछ र २४-घण्टे मद्दत केन्द्रहरू पनि चलाउनुपर्नेछ, जहाँ उनीहरूका कारहरू ट्र्याक गर्न सकिनेछ। आपतकालीन अवस्थामा, उपभोक्ता र चालकलाई हिन्दी र अंग्रेजी दुवै भाषामा सम्पर्क गरेर सहयोग गर्न सकिने हुनुपर्नेछ। यो योजना हाल दिल्लीमा लागू गर्ने योजना छ।
रिपोर्टकाअनुसार एपमा आधारित एग्रीगेटर सेवाहरू जस्तै उबर र ओलाका लागि विश्वव्यापी रूपमा दिल्ली शीर्ष १० बजारहरू मध्ये एक हो। ओला र उबरका दिल्लीमा करिब २ लाख चालक छन् र यस अनुसार यो योजना यी एग्रीगेटरहरूका लागि ठूलो चुनौतीको रूपमा आउँदैछ।
भारतीय यातायात व्यवस्था विभागले हालै योजनाको मस्यौदा सार्वजनिक गरेको छ र सरोकारवाला सबैलाई आ–आफ्नो राय वा आपत्ति दर्ता गर्न फेब्रुअरी १८ सम्मको समय दिइएको छ। यो योजना लागू भएपछि दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र कारमार्फत एपमा आधारित सेवा प्रदान गर्ने एग्रीगेटरले लाइसेन्स लिनुपर्ने।
यसमा सार्वजनिक बसहरूलाई योजनाबाट बाहिर राखिएको छ।
नयाँ नियम र योजना पालना नगर्नेलाई भारी जरिवाना प्रस्ताव गरिएको छ। निर्देशिका जारी भएको ३ महिनाभित्र एग्रीगेटरले लाइसेन्स लिनुपर्नेछ र त्यसरी लाइसेन्स नलिने एग्रीगेटरको सवारी साधनलाई प्रति गाडी २५ हजार भारतीय रुपैयाँ जरिवाना तिराईनेछ।
यसका साथै सेवा संचालकहरुले क्रमशः तोकिएको अवधिसम्ममा आफ्ना प्लेटफर्महरुका गाडीहरु ईलेक्ट्रिक भेहिकल मात्र चलाउनुपर्ने शर्त राखिएको छ।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार