
काठमाडौं ।
जर्मन अटोमोटिभ टेक्नोलोजी कम्पनी कन्टिनेन्टल इन्जिनियरिङ सर्भिसेस (सीईएस) ले स्टार्टअप भोलेरियोसँग मिलेर इन्टेलिजेन्ट चार्जिङ रोबोट विकास गरिरहेको छ जसले विद्युतीय सवारीका प्रयोगकर्ताहरूलाई आफ्ना सवारी साधन चार्ज गर्न सजिलो र सहज बनाउनेछ।
यो चार्जिङ रोबोट पूर्णतया अटोमेटिक हुनेछ, जसले गाडीलाई स्वतः चार्जिङ्गमा राखेर चार्ज गर्नेछ।
सीईएसले एउटा ब्लगमार्फत दिएको जानकारीअनुसार यो स्मार्ट चार्जिङ रोबोट दुई कम्पोनेन्टहरुका साथमा निर्मित छ, जसमा एक एकाइ ईलेक्ट्रिक भेहिकलको मुनी र अर्को ग्यारेजको भुइँमा फिट हुनेछ। ग्यारेजमा फिट गरिएको युनिटको माथि कार पार्क गर्ने बित्तिकै, दुई इकाइहरू स्मार्ट प्रणालीमार्फत कनेक्ट हुनेछन् र कार स्वचालितरुपमा चार्ज गर्न सुरु हुनेछ।
यस बाहेक, दुबै एकाइको एलाइनमेन्टको लागि अल्ट्रा-ब्रोडब्यान्ड संचारको प्रयोग गरिएको यो पनि दावी गरिएको छ। जबकि दुई इकाईहरू बीच हुने भौतिक सम्पर्कले चार्ज गरिरहेको समयमा बिजुलीको कुनै नोक्सानी नहुने सुनिश्चित गर्दछ।
यो प्रणाली २२ किलोवाट रेट गरिएको आउटपुट प्रणालीको साथ निजी घरहरूमा प्रयोगको लागि डिजाइन गरिएको हो। दोस्रो चरणमा ५० किलोवाटभन्दा माथिको चार्जिङ क्षमताको डाइरेक्ट करेन्ट (डीसी) सार्वजनिक स्थानका लागि छुट्टै फास्ट चार्जिङ सोलुसन पनि विकास गरिने कम्पनीले जनाएको छ। यसका साथै, पुराना सवारी साधनहरूमा पनि यो फास्ट चार्जिङ प्रणाली जडान गर्न सकिने बताईएको छ।

कम्पनीले यस प्रणालीको पहिलो उत्पादन सन् २०२२ भित्रमा निर्माण गर्ने जनाएको छ। यसपछि यसको ठूलो उत्पादन गर्न २०२४ को लागी योजना बनाईएको छ। कम्पनीले यो चार्जिङ्ग रोबोटको उत्पादन जर्मनीमा हुने जनाएको छ।
कन्टिनेन्टल इन्जिनियरिङ सर्भिसका प्रबन्ध निर्देशक डा. क्रिस्टोफ फाल्क-गियरलिङ्गरले फास्ट चार्जिङ समाधान विद्युतीय गतिशीलताको विकासमा एक आवश्यक कदम भएको र यसलाई दैनिक प्रयोगका लागि थप सहज र सुविधाजनक बनाउन सकिन्छ भन्ने विश्वास गरेका छन्।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार