चीनमा १४ लाख ३० हजार फाइभजी बेस स्टेशनहरू स्थापना

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
चीनमा १४ लाख ३० हजार फाइभजी बेस स्टेशनहरू स्थापना

काठमाडौं ।

चीनले सूचना र सञ्चार प्रविधिलाई बढावा दिने देशको प्रयासका बीच सन् २०२१ को अन्त्यसम्ममा कुल १४ लाख ३० हजार फाइभजी बेस स्टेशनहरू स्थापना गरेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

‘यो संख्या विश्वव्यापी फाइभजी बेस स्टेशनहरूको ६० प्रतिशत भन्दा बढी हो। सन् २०२० को अन्त्यको तुलनामा झण्डै दोब्बरले अर्थात १०.१ फाइभजी बेस स्टेशनहरूले चीनमा प्रत्येक १० हजार मानिसहरूलाई सेवा प्रदान गर्दछ,’ मन्त्रालयले भन्यो।

समाचार एजेन्सी सिन्ह्वाकाअनुसार गत वर्ष, फाइभजीमा चीनको लगानी १८४.९ अर्ब युआन (लगभग २९ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन दूरसञ्चार उद्योगको स्थिर सम्पत्ति लगानीको ४५.६ प्रतिशत हिस्सा हो। यस्तो लगानी एक वर्ष अघिको तुलनामा ८.९ प्रतिशतले बढी हो।

चीनले सन् २०२२ मा फाइभजी सेवा र गिगाबिट फाइबर अप्टिक नेटवर्क स्थापना गर्ने दिशामा स्थिर र व्यवस्थित प्रगति गर्ने मन्त्रालयले उल्लेख गरेको छ।

देशले २०२३ सम्ममा ५जी प्रयोगकर्ताहरूको संख्या ५६ करोड भन्दा बढी हुने अपेक्षा गरेको छ, र चीनमा प्रत्येक १० हजार मानिसहरूले १८ फाइभजी बेस स्टेशनहरू भन्दा बढीको प्रयोग गर्ने गत वर्ष जारी गरिएको दिशानिर्देशमा भनिएको छ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार