
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लस तथा ओपोको युनिफाइड ओएस यो वर्षको उत्तरार्धमा आउने भएको छ।
यो ओएस वनप्लसको अक्सिजनओएस तथा ओपोको कलरओएसलाई मिलाएर बनाइएकोले यसको नाम युनिफाइड ओएस राखिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यी दुई ओएसबीचको एकताको प्रक्रिया शुरु भइसकेको र यो सम्पन्न हुन केही समय लाग्ने कम्पनीको भनाई छ।
वनप्लस ९ सिरिजमा एन्ड्रोइड १२ मा आधारित कलरओएसको कोडयुक्त अक्सिजनओएस १२ राखिएको छ। तर यसमा युनिफाइड ओएस भने छैन। यस्तै हालै बाहिर आएका रुमरहरुका अनुसार वनप्लस १० प्रो विश्वभरी युनिफाइडओएस नभई अक्सिजनओएस १२ सहित उपलब्ध हुनेछ।
नयाँ रुमरहरुलाई मान्ने हो भने युनिफाइड ओएस यस वर्षको उत्तरार्द्धसम्मका लागि ढिलाई भएको छ भने यसलाई त्यतिखेर सार्वजनिक हुने वनप्लस फोनमा पहिलोपटक प्रयोग गरिनेछ।
यसबाहेक युनिफाइडओएस एन्ड्रोइड १३ मा आधारित हुने बुझिएको छ भने यो अक्सिजनओएसको क्षमतावान् उत्तराधिकारीका रुपमा खरो उत्रने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ माघ २०७८, बुधबार