१० लाख रुपैयाँ अनुदान दिन स्टार्टअपहरु खोज्दै नास्ट, यस्ता छन् अनुसन्धानका प्राथमिकता क्षेत्रहरु

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
१० लाख रुपैयाँ अनुदान दिन स्टार्टअपहरु खोज्दै नास्ट, यस्ता छन् अनुसन्धानका प्राथमिकता क्षेत्रहरु

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले नवप्रवर्तन र आविष्कारहरूलाई प्रबर्द्धन गर्नका लागि आर्थिक सहयोग गर्ने भएको छ । यसको लागि नास्टले इच्छुक व्यक्ति तथा संघसंस्थाहरुबाट आवेदन माग गरेको छ ।

नास्टले नेपालका नवप्रवर्तकहरू र उनीहरूले नेपालमा गरेका नवप्रवर्तन र आविष्कारहरूलाई सहयोग गर्न ‘समृद्धिका लागि नवप्रवर्तन’ भन्ने कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

नास्टले नव प्रवर्तन कार्यक्रम अन्तर्गत प्रविधिको विकास तथा अनुसन्धानको लागि अनुदान वितरण सम्बन्धी निर्देशिका, २०७६ (प्रथम संसोधन २०७७) को आधारमा नयाँ कार्यक्रमको लागि प्रस्ताव माग गरिएको जनाएको छ।

यी हुन प्रस्तावका क्षेत्रहरु

देशलाई आवश्यक पर्ने प्रविधिहरु विशेष गरी कृषि प्रविधि तथा यान्त्रिकीकरण, खाद्य प्रबिधि, सूचना तथा प्रविधि, उर्जा तथा यातायात, शहरी बिकास, उदयमान प्रबिधि, प्राकृतिक श्रोत साधनको उपयोग, वातावरण एवं जलवायु परिबर्तन र विपद जोखिम न्यूनीकरणको क्षेत्रमा बिद्यमान समस्याहरुको समाधानको लागि आवश्यक पर्ने प्रविधिहरुको विकाश गर्ने यस कार्यक्रमको प्रमुख उद्देश्य भएको नास्टले उल्लेख गरेको छ।

त्यसैले उल्लेखित क्षेत्रहरुमा नयाँ प्रविधि विकाश गर्ने वा विद्यमान प्रविधिहरुको सुधार गर्ने हुनुपर्ने छ।

यसको लागि कुनै शैक्षिक योग्यताको मापदण्ड नभएको र सबै नेपालीले प्रस्ताव बुझाउन सक्नेछन् । यस्तो प्रस्तावित कार्यक्रम आगामी १२ महिनाभित्र सम्पन्न गर्ने किसिमको हुनुपर्नेछ। त्यसैगरी प्रस्ताव ३५ दिन भित्र पठाउनुपर्नेछ।

तर समस्या अध्ययन गरि प्रतिवेदन मात्र पेश गर्ने अनुसन्धानलाई यस कार्यक्रममा समावेश गरिने छैन।

यदि तपाईँ पनि नास्टको आर्थिक सहयोग चाहनुहुन्छ भने यस कार्यक्रममा आवेदन दिन [email protected] मा ईमेल पठाएर सहभागी हुन सक्नुहुनेछ।

अनुदान रकमको प्रकृया

नास्टले छनोटमा परेका प्रस्ताव र कार्यक्रमहरुलाई अधिकतम १० लाख रुपैयाँसम्म नवप्रवर्तन अनुदान दिने निर्देशिकामा उल्लेख छ।

त्यसैगरी सो अनुदान तीन किस्ता गरि प्रदान गरिनेछ। पहिलोकिस्ता स्वीकृत रकमको ३० प्रतिशत यस प्रतिष्ठान र अनुसन्धानकर्ता बीच संझौता भए पछि दिइनेछ। दोस्रो किस्ता (५० प्रतिशत) कार्य प्रगतिकोआधार सहित मूल्याङ्कन समितिको सिफारिस पछि मात्र प्रदान गरिनेछ।

कार्य प्रगति प्रतिवेदन पेस नगर्ने व्यक्तिहरुलाई अन्य बाँकी किस्ता प्रदान गरिनेछैन र भबिष्यको लागि समेत अयोग्य ठहरिने गरि तथ्यांक अद्यावधि गरिनेछ।

अन्तिम किस्ताको लागि यस प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा सम्बन्धित व्यक्तिले गरेको अनुसन्धान, आविष्कार तथा खोजको प्रदर्शनको साथै अन्तिम प्रतिवेदनको मूल्याङ्कनका आधारमा मात्र प्रदान गरिने निर्देशिकामा उल्लेख छ। यसरी प्राप्त भएका नवप्रवर्तनका उत्पादनहरुलाई मुल्यांकन समिति मार्फत छनौट गरि उत्कृष्ट ३ प्रविधिका नवप्रवर्तकहरुलाई पचास हजार रुपैयाँका दरले पुरष्कृत गर्न सकिनेछ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...