
काठमाडौं ।
बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध भएको विद्युत् र टेलिफोन सेवा सञ्चालन हुन नसक्दा बझाङवासी सङ्कटमा परेका छन। हिमपातका कारण विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत समस्या आएपछि विद्युत् र टेलिफोन सेवा एकै पटक अवरुद्ध भएका हुन।
डडेल्धुरा, बैतडी हुँदै ल्याइएको राष्ट्रिय प्रसारण लाइनमा हिमपातका कारण ठाउँठाउँमा रुख भाँच्चिनुका साथै पोलसमेत ढलेपछि जिल्लामा विद्युत् सेवा बन्द भएको हो। विद्युत् सेवा बन्द भएपछि त्यसको प्रत्यक्ष असर टेलिफोन सेवामा समेत परेको छ।
जयपृथ्वी राजमार्ग हुँदै ल्याएको विद्युतको राष्ट्रिय प्रसारण लाइनको दैलेख श्रीभावर, विजयपुर र अनारखोलीमा पोल ढलेकाले मर्मत कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बझाङका प्रमुख हरेन्द्र यादवले बताए। पोल गाड्ने र लाइन मर्मत गर्ने काम भइरहेकाले अझै दुई/तीन दिन लाग्नेसमेत उनको भनाइ छ।
सदरमुकाम चैनपुर स्थित नेपाल टेलिकमको रिपिटर टावर चार्जको अभावले बन्द भएको छ।
मौसम सफा नभएका कारण टेलिकमका टावरमा सोलारले समेत काम गर्न छाडेकाले घाम लागेका बेला टेलिफोन आउने र घाम अस्ताउने बित्तिकै टावर जाने समस्या आएको नेपाल टेलिकम बझाङका निमित्त प्रमुख बमबहादुर सिंहले बताए ।
जिल्लाभर रहेका झन्डै दुई दर्जनभन्दा बढी टावर सौर्य ऊर्जामा निभर छन्। लगातार घाम नलागेको खण्डमा टेलिफोन सेवा बर्सेनि अवरुद्ध हुँदै आएको भए पनि यसको भरपर्दो वैकल्पिक व्यवस्था गर्न नसक्दा स्थानीयले अनावश्यक हैरानी बेहोर्नुपरेको छ। गोरखापत्र
प्रकाशित: २५ माघ २०७८, मंगलवार