आर्टिफिसियल इन्टेलिजेन्ट पढाउन काठमाडौँ विश्वविद्यालयको भौतिक पूर्वाधार तयार

  • Technology Khabar | २५ माघ २०७८, मंगलवार
आर्टिफिसियल इन्टेलिजेन्ट पढाउन काठमाडौँ विश्वविद्यालयको भौतिक पूर्वाधार तयार

काठमाडौं ।

काभ्रेपलान्चोकको धुलिखेल केन्द्रित भएर शैक्षिक गतिविधि गर्दै आएको काठमाडौँ विश्वविद्यालय (केयू) ले पछिल्लो समय काभ्रेकै स्थानीय तहहरू र अन्य जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरेको छ।

यसको लागि विश्वविद्यालयले हालै नयाँ भवन तथा भौतिक संरचनाहरु तयार भएको जनाएको छ।

विश्वविद्यालयले शैक्षिक दायरा बढाउने क्रममा यस शैक्षिक सत्रदेखि जिल्लाको पाँचखालमा स्कुल अफ साइन्सअन्तर्गत कृषि विज्ञान र स्कुल अफ इन्जिनियरिङतर्फको आर्टिफिसियल इन्टेलिजेन्ट विषयको अध्यापन गराउने छ।

विश्वविद्यालयका सहायक प्रवक्ता डा. उद्धव प्याकुरेलले पाँचखाल नगरपालिकासँग गत वर्ष नै दुई सङ्कायका कक्षाहरू सञ्चालन गर्न भवन तथा जग्गा उपलब्ध गराउन भएको सम्झौताअनुसार तयारी भएको बताए।

उनले नगरपालिकाले उपलब्ध गराएको विद्यालयको भवनमा कक्षाको डिजाइन, प्रयोगात्मक अभ्यासका लागि आवश्यक पर्ने प्रयोगशाला निर्माण गरी आइतबारदेखि आधिकारिक रूपमा स्कुल अफ साइन्स र इन्जिनियरिङको कार्यालय स्थापना गरिएको बताए।

पाँचखाल नगरपालिकाले काठमाडौँ विश्वविद्यालयका लागि नगरपालिकाको वडा नं. २ मा करिब पाँच सय रोपनी जग्गा उपलब्ध गराउने आन्तरिक सहमति प्रदान गरेको छ भने मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ।

यसअघि नै गत साउनमा विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागले आगामी सेप्टेम्वर २०२१ बाट दुई वटा नयाँ शैक्षिक कार्यक्रमहरु आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एमटेक एआई) विषयमा स्नातक र स्नातकोत्तर तहमा कार्यक्रम सुरु गर्ने जानकारी दिएको थियो।

यो कार्यक्रम प्राविधिक आधारभुत प्रोग्रामिङ्ग, कम्प्यूटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट शुरु हुनेछ। बिस्तारै यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाको साथै पछि कुनै परिपेक्षको खोज, गेम डेभलपमेन्ट, मेशीन लर्निङ्ग, न्यूरल नेटवर्क, कम्प्यूटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

त्यसैगरि मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्समा कौशल, ज्ञान, उन्नत गणना, डाटा विज्ञान र एआई अध्ययनसँग सम्बन्धित अभ्यासहरुको लागि हो, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ।

विशेष गरी यसमा न्युरल नेटवर्क, फज्जी सिस्टम, इभोलुसनरी कम्पुटिसन कभर गरिने जनाइएको छ । यस कार्यक्रमको पाठ्यक्रम भित्र मुख्यतया मसिन लर्निङ, न्युरल नेटवर्क, बिग डाटा एनालाइटिक्स, इन्फर्मेसन रिट्रेभल, फज्जी सिस्टम र इभोलुसनरी कम्पुटिसन समावेश गरिएको छ।

विश्वविद्यालयका सहायक प्रवक्ता डा. प्याकुरेलले पाँचखालमा कृषि विज्ञान विषयका विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासका लागि बागवानी केन्द्र तथा अन्य विभिन्न कृषि फार्म तथा कृषियोग्य जमिन भएको कारण पाँचखालमा कृषि विज्ञानको अध्यापन सुरु गर्ने तयारी गरेको बताए।

प्रकाशित: २५ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार