
काठमाडौं ।
उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको दाबी गरिएको छ।
संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो जानकारी मिडियालाई बताइएको हो। सन् २०२० देखि २०२१ को मध्यसम्म साइबर हमलाकर्तामार्फत् ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्तिको चोरी गरिएको अनुसन्धानकर्ताले पत्ता लगाएका बीबीसीले उल्लेख गरेको छ।
संयुक्त राष्ट्र संघको रिपोर्टले बताएअनुसार यस्ता खालका हमला प्योङ्याङको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि एक महत्वपूर्ण राजस्वको स्रोत हो।
शुक्रबार यो रिपोर्ट संयुक्त राष्ट्रको प्रतिबन्ध समितिलाई सुम्पिइएको थियो।
साइबर हमलामा उत्तरी अमेरिका, युरोप र एशियामा कम्तीमा तीन क्रिप्टोकरेन्सी एक्सचेन्जलाई निशानामा पारियो ।
रिपोर्टमा अघिल्लो महिना सिक्योरिटी फर्म चेनालिसिसद्वारा प्रकाशित एक अध्ययनबारे पनि उल्लेख गरिएको छ जसमा उत्तर कोरियाली साइबर हमलामा गएको वर्ष ४० करोड डलर बराबरको डिजिटल सम्पत्ति चोरिएको छ।
संयुक्त राष्ट्रले दिएको जानकारी अनुसार सन् २०१९ मा उत्तर कोरियाले साइबर हमलामार्फत् सामूहिक ध्वंश कार्यक्रमका लागि हतियार जुटाउनका लागि दुई अर्ब डलर जुटाएको थियो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि परमाणु परीक्षण र ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। यद्यपि, संयुक्त राष्ट्रको रिपोर्टले बताएअनुसार गम्भीर प्रतिबन्धका बावजुद उत्तर कोरिया आफ्नो परमाणु र ब्यालेस्टिक मिसाइलको आधारभूत ढाँचाको विकास जारी राख्न सक्षम रहेको छ।
यी प्रतिबन्धमाथि निगरानी राख्नेहरुले प्योङ्याङले मिसाइल परीक्षणमा उल्लेखनीय वृद्धि गरेको बताएका छन्।
प्रकाशित: २४ माघ २०७८, सोमबार