
काठमाडौं ।
नेपाली युवाहरुले विद्यालय तहबाट नै स्याटेलाइट बनाउन सिकाउने उदेश्यका साथ नानो स्याट बनाउने शैक्षिक सामग्री तयार पारेका छन्।
नेपाली युवाहरुकाे नेतृत्व रहेको “अन्तरिक्ष प्रतिष्ठान नेपाल” नामक संस्थाले नेपाल आविस्कार केन्द्रसँगको सहकार्यमा नानो स्याटेलाइटको लागि शैक्षिक किट उपलब्ध गराउने भएका हुन्।
उनीहरुले बालबालिकाहरुलाई विद्यालय तहबाट नै अन्तरिक्ष र स्याटेलाइटको बारेमा जानकारी दिने उद्देश्यले सस्तो क्यूब भन्ने शैक्षिक सामाग्री बजारमा ल्याउन लागेका छन्।
आविस्कार केन्द्रका संस्थापक डा महावीर पुनले सो बारेमा ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा भनेका छन्- ‘निकट भविष्यमा सस्तो क्यूब भन्ने शैक्षिक सामाग्री बजारमा आउँदैछ। यो अन्तरीक्षमा पठाईने स्याटेलाईटको हुबहु नमुना हो। स्याटेलाइट कसरी बनाउने र त्यसले कसरी काम गर्छ भनेर सिक्नको लागि प्रयोग गर्न सकिन्छ। यसको अनुसन्धानको काममा आविष्कार केन्द्रले मद्दत गरेको थियो।’
निकट भविष्यमा SASTO CUBE भन्ने शैक्षिक सामाग्री बजारमा आउंदैछ। यो अन्तरीक्षमा पठाईने स्याटेलाईटको हुबहु नमुना हो। स्याटेलाइट कसरी बनाउने र त्यसले कसरी काम गर्छ भनेर सिक्नको लागि प्रयोग गर्न सकिन्छ। यसको अनुसन्धानको काममा आविष्कार केन्द्रल मदत गरेको थियो. https://t.co/n6JuKWn1vL pic.twitter.com/FUwxBpXzOW
— Mahabir Pun (@MahabirPun) February 5, 2022
अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक अभास मास्केले नानो स्याटेलाइटको प्रोटोटाइप बनाउन सिकाउने गरी हाल काम गरिरहेको र भविश्यमा विदेशी बजारलाई ध्यानमा राखेर नेपालमा नानो स्याट बनाईने बताए।
अहिले हामीले स्कूलका बालबालिकाहरुलाई सिकाईरहेका छौं र यसमा इन्जिनियरिङ्गका विद्यार्थीहरु वा इच्छुकले समेत स्याटेलाइट बनाउन सक्नेछन्।
उनले यसअघि खोटाङ्गको एक विद्यालयका विद्यार्थीहरुलाई समेत नानो स्याट बनाउन सिकाएको र यसैगरी इच्छुक सबैले स्याटेलाइट बनाउन सक्ने किट ल्याउन लागेको जानकारी दिए।
“हामीले एजुकेसनल किट ल्याउन लागेका छौं। यसको लागत हाल करिब ६०० अमेरिकी डलर लागिरहेको छ र यसलाई अझ सस्तो गर्नुपर्नेछ,” मास्केले टेक्नोलोजीखबरसँग भने, “नेपालमा नै स्याटेलाइटका विभिन्न प्राविधिक कामहरु गर्न सक्नेगरी शुरुवात गर्न खोजेका हौं।”
सो किटमा नानो स्याट बनाउन आवश्यक पर्ने सामग्रीहरुका साथसाथै बनाउने तरीका र अन्य आवश्यक सफ्टवेयरहरु उपलब्ध हुनेछन् । जसको आधारमा विद्यार्थीहरुले आफैं सिकेर नानो स्याट बनाउन सक्नेछन्।
यस्तो स्याटेलाइट निर्माणका साथसाथै संस्थाले विदेशमा बिक्री गर्ने उद्देश्यले समेत नानो स्याट बनाउने योजना लिएको छ।

“हामीले बनाएका नानो स्याटेलाइट तथा शैक्षिक किटहरु अन्य देशमा बनाईने भन्दा सस्तोमा बनाउन सकिने संभावना हुँदा त्यसलाई विदेशी बजारमा बेच्न सकिने संभावना पनि छ। यसको लागि किकस्टार्टरमा जाँदैछौं,” उनले भने ।
संस्थाले यस्ता नानो स्याटेलाइट किट विदेशी बजारमा ६९९ अमेरिकी डलरसम्ममा बेच्न सकिने संभावना रहेको भन्दै त्यसमा थप बजार अनुसन्धान हुँदै गरेको जानकारी दिएको छ।
पहिलो चरणमा १०० ओटा यस्ता नानो स्याटेलाइट किट तयार बारेर बेच्ने र त्यसबाट आएको आम्दानीले फेरी १ हजार नयाँ नानो स्याट किट बनाउने योजना लिईएको छ। यसको लागि इन्जिनियरिङ्ग पढिरहेका वा इच्छुक इन्जिनियरहरुलाई समेत सहभागी गराईनेछ।
“हामीले बनाउने स्याटेलाइट विदेशी शैक्षिक संस्था अनुसन्धानमुलक संस्था वा ह्याकरहरु लगायतले प्रयोग गर्न सक्दछन्,” संस्थापक मास्केले भने, “यसबाट नेपालीहरुले प्राविधिक ज्ञान हासिल गर्नेछन भने नेपाली इन्जिनियरहरुले अन्य क्षेत्रमा समेत उपयोगी आधारभूत ज्ञान प्राप्त गर्नेछन्।”
प्रकाशित: २२ माघ २०७८, शनिबार