काठमाडौं ।
जापानी गेमिङ जायन्ट सोनीले आगामी सन् २०२६ को मार्चभित्र १० ओटा लाइभ सर्भिस गेम सार्वजनिक गर्ने योजना बनाएको छ।
हालै कम्पनीले ३ अर्ब ६० करोड डलरमा डेस्टिनी गेम निर्माता कम्पनी बञ्जीको स्वामित्व अधिग्रहण गरेको छ।
केही वर्षभित्रै १० ओटा लाइभ सर्भिस गेम ल्याउनु सोनीको प्लेस्टेशन गेम आफ्नो परम्परागत कन्सोलको क्षेत्रबाट विस्तार हुँदै बाहिर गएर गर्नुपर्ने महत्वाकांक्षी योजना भएको द भर्जले जनाएको छ।
‘बञ्जीको स्वामित्व अधिग्रहणको महत्व डेस्टिनी फ्रेञ्चाइज लिनु मात्र नभई बञ्जीले लाइभ सर्भिस गेमका क्षेत्रमा विकसित गरेका विज्ञता र प्रविधिलाई सोनी ग्रुपसँग एकीकृत गर्नु हो’, सोनीका सीएफओ हिरोकी टोटोकील् बताए।
उनका अनुसार बञ्जी र प्लेस्टेशन स्टुडियोजको संयोजनबाट कम्पनीले सन् २०२६ को मार्चभित्र १० ओटा लाइभ सर्भिस गेम सार्वजनिक गर्ने महत्वाकांक्षी निर्णय गर्ने आँट गरेको हो।
सोनीले शुरुमा फोर्टनाइटसँग प्रतिस्पर्धा गर्नका लागि बञ्जी किने पनि पछि उसको महत्वाकांक्षा बढ्दै गएको बुझिएको छ।
बञ्जीको आउँदै गरेको म्याटर कोडनेम दिइएको गेम क्यारेक्टर-बेस्ड गेम प्लेसहितको एउटा मल्टिप्लेयर एक्शन गेम हुने बताइएको छ।
सोनीसँग आफ्नै लाइभ सर्भिस गेम छैन भने माइक्रोसफ्टले माइनक्राफ्ट तथा सी अफ थिभ्स तथा एपिक गेम्सले फोर्टनाइटका माध्यमबाट यो क्षेत्रमा वर्चस्व जमाइरहेका छन्। डेस्टिनी तथा बञ्जीको प्रविधिले सोनीलाई गेमिङ बजारमा सफल बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: २० माघ २०७८, बिहीबार