
काठमाडौं ।
बुटवल उपमहानगरपालिकाले सरकारी विद्यालयमा सूचना प्रविधिको पहुँच बढाउन सामुदायिक विद्यालयमा सूचना प्रविधि तथा कम्प्युटर प्रयोगशाला स्थापना गर्न सुरु गरेको छ ।
उपमहानगरले गत सातादेखि नै बुटवलका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उद्देश्यले सूचना प्रविधि तथा कम्प्युटर प्रयोगशाला स्थापना गर्न थालेको जनाएको हो ।
बुटवल उपमहानगर पालिकाकी उपप्रमुख तथा अनुगमन समिति संयोजक गोमादेवी आचार्यले बुटवलको सबैभन्दा पुरानो सामुदायिक विद्यालय बुटवल मावि र उजिर सिंह माविमा स्थापना गरिएको सूचना प्रविधि तथा कम्प्युटर प्रयोगशालाको शुभारम्भ गरेकी हुन् । त्यस अवसरमा बोल्दै उपप्रमुख आचार्यले बुटवल उपमहानगर पालिकाले नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि विगतका वर्षदेखि नै काम थालेको बताउँदै सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण, पुनर्निर्माण, विज्ञान प्रयोगशालाको विस्तार तथा सूचना प्रविधिको पहुँच वृद्धि गर्न प्रयास गरिरहेको बताईन् ।
उपमहानगरका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले बुटवल शैक्षिक गुणस्तरमा ने पालकै प्रथम भएको बताउँदै आगामी दिनमा पनि बुटवलको साख कायमै राख्न विभिन्न प्रयास गर्ने बताए । उनले बुटवलका सामुदायिक विद्यालयको क्षमता विस्तारका लागि सङ्घीय सरकारले समेत सहयोग गर्दै आएको बताउँदै बुटवल उपमहानगरले समेत पुराना भवन निर्माण, स्तरोन्नति, विस्तार तथा बुक कर्नर र व्यायामशाला निर्माणमा सहकार्य गरिरहेको बताए।
सोही क्रममा बुटवलको जितेश्वर माविमा दुई कोठे नयाँ भवन, विज्ञान प्रयोगशाला र सूचना प्रविधि आईसीटी ल्याब तथा नयाँगाउँ माविमा सूचना प्रविधि आईसीटी ल्याबको शुभारम्भ गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमत अन्तर्गत विद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले ६ लाख रु ५० हजार रुपैयाँमा ४० वटा कम्प्युटर सहित ल्याब सञ्चालनमा आएको बताए । उनकाअनुसार अहिले एक ल्यापटप,एक फोटोकपी मेसीन,२ कम्प्युटर ,सात थान सिसिटिभी जडान गरिएको छ।
उपमहानगरले बुटवलका सवै विद्यालयलाई एउटै महाविद्यालयको अवधारणाअनुसार सञ्चालन गर्न योजना बनाएको बताइएको छ।
प्रकाशित: २० माघ २०७८, बिहीबार