
काठमाडौं ।
मेटाभर्समा घरजग्गाको कारोबार रकम गत वर्ष ५० करोड डलर नाघेकोमा यो वर्ष त्यसको दोब्बर हुन सक्ने विश्लेषकहरुले जनाएका छन्।
लगानी तथा विश्लेषण संस्था मेटामेट्रिक सोलुशन्सले हालै जारी गरेको रिपोर्टमा सन् २०२१ मा मुख्य चारओटा मेटाभर्स प्लेटफर्ममा घरजग्गाको कारोबार ५० करोड १० लाख डलर नाघेको पाइएको छ।
जनवरीमा यसको कारोबार साढे ८ करोड डलर बराबर भएको मेटाभर्सको मुख्य तथ्याङ्क प्रदायकले जनाएको छ। कम्पनीले उक्त कारोबारको रकम २०२२ मा १ अर्ब डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेको सीएनबीसीले उल्लेख गरेको छ।
हालैको यो वृद्धि गत अक्टोबर २८ मा फेसबुकले मेटाभर्समा केन्द्रित गर्न आफूलाई रिब्रान्डिङ गर्नलागेको घोषणापछि भएको बताइएको छ।
त्यसपछि मेटाभर्समा घरजग्गाको कारोबार नोभेम्बरमा ९ गुणाले बढेर १३ करोड ३० लाख डलर बराबर भएको मेटामेट्रिकको तथ्याङ्कमा उल्लेख छ। त्यसयता भने कारोबार केही कम हुँदै गएको थियो। तर जनवरीको कारोबार भने गत वर्षको सोही अवधिको तुलनामा १० गुणाले बढेको सीएनबीसीले जनाएको छ।
यसैगरी ब्रान्डएसेन्स मार्केट रिसर्चको रिपोर्टले पनि मेटाभर्स रियल इस्टेट बजार २०२२ देखि २०२८ सम्म वार्षिक ३१ प्रतिशतका दरले बढ्ने प्रक्षेपण गरेको छ।
प्रकाशित: २० माघ २०७८, बिहीबार