
काठमाडौं ।
बेलायती होम सेक्रेटरी प्रिती पटेलले आपराधिक ठगी आरोपको सामना गर्न बेलायती टेक टाइकुनलाई अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएकी छिन्।
अटोनोमीका संस्थापक माइक लिन्चले शुक्रबार लन्डनमा अर्बौं डलरको ठगी मुद्दा गुमाएपछि यो निर्णय आएको बीबीसीले उल्लेख गरेको छ।
उनको फर्म अमेरिकी टेक जायन्ट हेवलेट प्याकार्ड(एचपी) लाई २०११ मा ११ अर्ब डलरमा बेचिएको थियो। उनीमाथि बिक्री अघि कम्पनीको मूल्य बढाउनको लागि खाताहरू हेरफेर गरेको आरोप छ।
२०१२ मा, खरिद गरेको एक वर्ष पछि, एचपीले अटोनोमीको मूल्यको ८.८ अर्ब डलर राइट-डाउन (अनुमानित मूल्यमा कमी) घोषणा गर्यो।
एचपीले अटोनोमीका संस्थापक र पूर्व प्रमुख वित्तीय अधिकारी सुशोभन हुसेनमाथि करिब ५ अर्ब डलरको मुद्दा दायर गर्यो र उनीहरूले “अटोनोमीको रिपोर्ट गरिएको राजस्व, राजस्व वृद्धि र सकल मार्जिनलाई कृत्रिम रूपमा बढाएको”दाबी गर्यो।
बेलायतको सबैभन्दा ठूलो सिभिल फ्रड ट्रायल सुरु भएको दुई वर्ष पछि न्यायाधिश हिल्डयार्डले एचपीले आफ्नो मुद्दा “पर्याप्त रूपमा जितेको” बताएका थिए। सो मुद्दा २०१९ मा नौ महिनामा सुनावाई भएको थियो। तर कम्पनीले क्षतिमा दावी गरिएको रकम भन्दा पर्याप्त रूपमा कम मात्र प्राप्त गर्ने सम्भावना भएको न्यायाधिशले बताए।
लिन्चले सधैं आरोपहरू अस्वीकार गरे र उनले अपील गर्ने बताएका छन्।
उनका पूर्व मुख्य वित्तीय अधिकारी हुसेनलाई अप्रिल २०१८ मा अमेरिकामा वायर्ड धोखाधडी र अटोनोमीको बिक्रीसँग सम्बन्धित अन्य अपराधमा दोषी ठहर गरियो र पाँच वर्षको जेल सजाय भयो।
षड्यन्त्र र धोखाधडीको १४ ओटा मुद्दाको लागि आपराधिक मुद्दा सामना गर्न लिन्चलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने निर्णय गर्न गृह सचिवको लागि मध्यरातको म्यादका साथै शुक्रवारको अदालतको निर्णय थियो।
कम्पनीको स्थापना सन् १९९६ मा लिन्चले क्याम्ब्रिज न्यूरोडायनामिक्स नामक विशेषज्ञ सफ्टवेयर अनुसन्धान समूहबाट गरेका थिए।
अटोनोमीले यस्तो सफ्टवेयरको विकास गर्यो जसले फोन-कल, इमेल वा भिडियो जस्ता “असंरचित” स्रोतहरूबाट उपयोगी जानकारी निकाल्न सक्छ।
त्यसपछि सफ्टवेयरले कल-सेन्टर अपरेटरलाई जवाफ दिन वा शब्द वा विषयहरूको लागि टिभि च्यानलहरू मनिटर गर्ने जस्ता कामहरू गर्न सक्छ।
सो कम्पनी अमेरिका र बेलायत दुबै देशका सेयर बजारमा समेत सूचिकृत भएको थियो।
प्रकाशित: १७ माघ २०७८, सोमबार