
काठमाडौं ।
अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले विमानस्थल नजिक सुरक्षित रुपमा फाइभजी परिचालन गर्नेसम्बन्धमा एटीएन्डटी तथा भेरिजोनसँग समझदारी गरेको छ।
केही समययता अमेरिकामा फाइभजी सेवाको परिचालन र विस्तार हुने विषयमा त्यसले विशेषगरी विमानस्थल वरपर निम्त्याउने प्राविधिक खतराका बारेमा निकै चर्चा परिचर्चा हुँदै आइरहेको छ।
अमेरिकाका प्रमुख दूरसञ्चार सेवा प्रदायक एटीएन्डटी तथा भेरिजोनले गत जनवरी १९ देखि फाइभजी परिचालन गर्न अनुमति पाएसँगै उड्डयन क्षेत्रमा भने फाइभजीका सिग्नलले विमानका केही अति संवेदनशील उपकरणहरुमा नकारात्मक असर पार्ने र उडान तथा अवतरण नै प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको थियो।
यसैलाई मध्यनजर गर्दै एफएएले यी सेवा प्रदायकहरुलाई फाइभजी परिचालनमा २ हप्ता ढिलाई गर्न आग्रह गर्दै अमेरिकामा ५० ओटा विमानस्थललाई फाइभजी बफर जोनका रुपमा सूचीकृत गरेको थियो।
हालै सी-ब्याण्ड फाइभजी टावर सञ्चालनमा ल्याउँदा मुख्य विमानस्थलहरुमा सुरक्षा प्रत्याभूतिका लागि अपनाउनुपर्ने सबै रणनीतिका लागि एटीएन्डटी तथा भेरिजोन र एफएएबीच समझदारी भएको हो।
यसअघि जनवरीको शुरुवातमा अमेरिकी एयरलाइन्सहरुले दूरसञ्चार सेवा प्रदायक तथा एफएए दुवैलाई विमानस्थलनजिक रहेका सी-ब्याण्ड फाइभजी टावरले विमानहरुलाई ग्राउण्डेड पनि गर्न सक्ने भएकाले तिनिहरुलाई हटाउनुपर्ने आग्रह गरेका थिए।
त्यसको लगत्तै एयरलाइन्सहरुले अमेरिकी यातायात मन्त्रालयलाई विमानस्थलको रनवेको २ माइल परसम्म सी-ब्याण्ड टावरहरु राख्न नहुने र उक्त क्षेत्रलाई अस्थायी बफर जोन घोषणा गरिनुपर्ने आग्रहका साथ पत्र पठाएका थिए।
*हेडलाइन सम्पादित
सम्बन्धित समाचार
एफएएद्वारा उड्डयन क्षेत्रमा फाइभजीको वायरलेसको प्रभावसम्बन्धी सूचना जारी
अमेरिकाको एफएएद्वारा ५० विमानस्थल फाइभजी बफर जोनमा सूचीकृत
एटीएन्डटी र भेरिजोन अमेरिकी विमानस्थल वरपर फाइभजी परिचालन स्थगित गर्न सहमत
भेरिजन र एटी एन्ड टी सी-ब्याण्डमा फाइभजी परिचालन ढिलाई गर्न सहमत
प्रकाशित: १६ माघ २०७८, आईतवार