काठमाडौं ।
सन् २०१७ यता वैश्विक स्मार्टफोन शिपमेन्टको आँकडा पहिलो पटक वृद्धि भएको छ।
हालै गरिएको एउटा अध्ययनले ४ वर्षमा पहिलो पटक वैश्विक स्मार्टफोन शिपमेन्टको बजार वृद्धि भएको देखाएको हो। तर गत वर्ष शिपमेन्ट भएका वैश्विक स्मार्टफोन शिपमेन्टको परिमाण भने महामारीपूर्वको अवस्थाभन्दा कम रहेको पाइएको छ।
यो आँकडा र परिमाण हालै काउन्टरप्वाइन्ट रिसर्च नामक अनुसन्धान संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
वार्षिक स्मार्टफोन शिपमेन्ट २०२१ मा कोरोना महामारी तथा वैश्विक पार्टपुर्जा अभावका कारण आपूर्ति श्रृङ्खलामा आएको गडबडीका बावजूद ४ प्रतिशतले वृद्धि भएर १ अर्ब ३९ करोड थान पुगेको थियो।
काउन्टरप्वाइन्टको तथ्याङ्क अनुसार २०१७ मा स्मार्टफोन निर्माताहरुले १ अर्ब ५६ करोड थान बिक्री गरेकामा उक्त आँकड २०१८ देखि २०२० सम्म निरन्तर ओरालो लाग्दै गएको थियो।
उत्तरी अमेरिका, ल्याटिन अमेरिका तथा भारतमा बढेको उच्च मागाका कारण गत वर्ष स्मार्टफोनको बजार केही उचालिएको काउन्टरप्वाइन्ट रिसर्चका वरिष्ठ विश्लेषक हर्मीत सिं वालियाले जानकारी दिए।
‘एप्पलको पहिलो फाइभजी इनेबल भएको आईफोन १२ सिरिजको माग २०२१ को पहिलो त्रैमाससम्म निकै चुलिएका कारण अमेरिकामा स्मार्टफोन बजार उचालिएको हो’,वालियाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनका अनुसार उक्त माग लगभग सालभर नै चलेकाले अक्टोबरदेखि डिसेम्बरसम्मको अन्तिम त्रैमासमा ब्ल्याक फ्राइडेलगायत होलिडे सेल्स चल्दै गर्दा स्मार्टफोनको बजार निकै चुलिएको हो।
प्रकाशित: १६ माघ २०७८, आईतवार