
काठमाडौं ।
चीनको ग्रेट वाल मोटरले ब्राजिलमा विद्युतीय सवारी साधन निर्माण गर्न आगामी दशकमा ११.५ अर्ब चिनियाँ युआन (१.८१ अर्ब डलर) लगानी गर्ने शुक्रबार बताएको छ।
चीनको शीर्ष पिकअप ट्रक निर्माता बाओडिङमा आधारित ग्रेट वालले तीन वर्षभित्र ब्राजिलमा १० ओटा नयाँ विद्युतीय उत्पादनहरू लन्च गर्ने योजना बनाएको छ, जसमध्ये चार ओटा शुद्ध विद्युतीय सवारी साधन र छ ओटा हाइब्रिड हुनेछन्। यसले यो वर्षको चौथो त्रैमासिकमा पहिलो उत्पादन ल्याउने बताएको छ।
गाडीहरू साओ पाउलो राज्यको इरासेमापोलिस सहरमा रहेको आफ्नो नयाँ कारखानाबाट बनाइनेछ, जुन उसले बिहीबार मात्रै आधिकारिक रूपमा लिएको थियो।
ग्रेट वालले यो प्लान्टलाई अर्को वर्षको दोस्रो अर्धवार्षिकमा सञ्चालनमा ल्याउने र यसले वर्षमा १ लाख युनिट उत्पादन गर्ने र २,००० स्थानीय रोजगारी सिर्जना गर्ने अपेक्षा गरेको बताएको छ।
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा चिनियाँ अटोमेकरको आगमनलाई चिन्हित गर्ने सम्झौतामा डेमलरले गत अगस्टमा पूर्व मर्सिडीज बेन्ज कारखाना ग्रेट वाललाई बेचेको थियो।
प्रकाशित: १५ माघ २०७८, शनिबार