
काठमाडौं ।
–साजन सुवेदी
आर्थिक वर्ष २०७८/७९ को आधा अवधि बित्दा नेपालमा ७ अर्ब १७ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएका छन्।
हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको पुष मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ७ अर्बभन्दा बढी मूल्य बराबरका जम्मा १ लाख २२ हजार १२२ थान ल्यापटप तथा नोटबुकहरु आयात भएका पाइएको छ।
उक्त परिमाणका ल्यापटप तथा नोटबुकहरु विश्वका विभिन्न ३५ देशबाट आयात भएका तथ्याङ्कमा उल्लेख छ।
तथ्याङ्कअनुसार २०७८ कार्तिक मसान्तसम्म आइपुग्दा ९५ हजार ७५९ थान, मंसिर मसान्तसम्म १ लाख ११ हजार १६६ आयात भएकोमा त्यसयताको एक महिनाको अवधिमा १० हजार ९५६ थान बढेर कुल १ लाख २२ हजार १२२ थान पुगेको छ।
सबैभन्दा धेरै १ लाख १६ हजार ६४० थान चीनबाट आयात
यो आर्थिक वर्षको पुष मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् १ लाख १६ हजार ६४० थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएका पाइएको छ।
उक्त परिमाणको ल्यापटप तथा नोटबुक आयातका लागि देशबाट ६ अर्ब ८१ लाख ५ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ।
यसपछि मलेसियाबाट २१ करोड १० लाख १३ हजार रुपैयाँ बराबरको ३, १८७ थान आयात भएका छन्।
यस्तै सिंगापुरबाट ५ करोड १६ लाख ७४ हजार बराबरको ८ सय थान, अमेरिकाबाट ३ करोड ४१ लाख ७५ हजार बराबरको ५२८ थान, जापानबाट १ करोड २१ लाख १३ हजार बराबरको १४३ थान, यूएईबाट ९३ लाख ८२ हजार बराबरको १२४ थान यस्ता डिभाइस आयात भएका छन्।
यसैगरी थाइल्याण्डबाट ५५०९ बराबरको ११५ थान, कोरियाबाट ५६६६ बराबरको १११ थान, ताइवानबाट ६५६५ बराबरको १०९ थान तथा क्यानडाबाट ६७ लाख २१ हजार रुपैयाँ बराबरको १०३ थान र भारतबाट ३७ लाख ८२ हजार बराबरका ५३ थान ल्यापटप तथा नोटबुक आयात भएका देखिएको छ।
यी देशहरु बाहेक अन्य २५ भन्दा देशहरुबाट पनि फुटकर रुपमा ल्यापटप तथा नोटबुक डिभाइस आयात भएका छन्।
फुटकर रुपमा आएका यस्ता ल्यापटप तथा नोटबुक डिभाइसका मूल्य र २ हजारदेखि २१ लाख ८८ हजारसम्म तथा सङ्ख्या भने १ देखि ४१ थानसम्म रहेका प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १४ माघ २०७८, शुक्रबार