
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले फाइभजी डिभाइसहरुका सहायताले स्मार्टफोन बजारमा ठूलो हिस्सा ओगट्ने योजना बनाएको छ।
यसबाहेक कम्पनीले चिपको माग अत्यधिक बढेकाले शुरुवाती ६ महिनाभित्र आफ्ना फ्ल्यागशिप मेमोरी चिपहरुको मूल्यमा केही बढोत्तरी हुन सक्ने संकेत पनि गरेको छ।
विश्वको सबैभन्दा ठूलो मेमोरी चिप तथा स्मार्टफोन निर्माता सामसङले वैश्विक प्रविधि डिभाइसहरुको मागमा छिट्टै सुधार हुने प्रक्षेपण गर्दै बिहीबार ४ वर्षमा सबैभन्दा कीर्तिमानी चोथो त्रैमासको आम्दानी विवरण सार्वजनिक गरेको छ।
तर कम्पनीले कोरोना महामारीका कारण आपूर्ति श्रृङ्खलाको समस्या भने उत्तिकै रुपमा चुनोती बन्नसक्ने चेतावनी पनि दिएको छ।
नेक्स्ट जेनेरेशन फाइभजी स्मार्टफोनको सङ्ख्या सन् २०२२ मा बिक्री हुने समग्र स्मार्टफोनको आधाभन्दा बढी हुने सामसङ मोबाइल बिजनेसका उपाध्यक्ष किम सुङ कूले लगानीकर्ताहरुलाई भने।
‘हाम्रो रणनीति फाइभजी मोडलमा स्विच गर्न खोजेका ठूलो समुदायलाई लक्षित गर्नु हो’, किमले भने। उनले अझ बढी विश्वमा सबैभन्दा बढी हिट भएका मोडलहरु बिक्रीमा केन्द्रित हुने पनि बताए।
प्रकाशित: १३ माघ २०७८, बिहीबार