
काठमाडौं ।
मोबाइल फोनबाट दिनहुँ सम्पर्क गरेर विवाह गर्ने भन्दै ललाइफकाइ गरी भारततर्फ बेच्न लैजाँदै गरेकी बैतडी घरभएकी १४ वर्षीया बालिकालाई प्रहरीले वीरगञ्जबाट उद्धार गरेको छ। मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची, सन्धिखर्क नगरपालिका–७ घरभई हाल चितवन भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
माघ ७ गतेदेखि बैतडीबाट सम्पर्कविहीन भएकी बालिकाको अनुसन्धान एवं खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार पर्सा वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकाको उद्धार गरेको छ।
१४ वर्षीया बालिकाको साथमा रहेका राजु अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग एक महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाएर अर्घाखाँची लगी विवाह गर्ने भन्दै विभिन्न स्थान हुँदै झुक्याएर वीरगञ्ज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुल्न आएको छ।
अधिकारीलाई जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसुुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मोबाइल फोन दुरुपयोगका कारण पछिल्लो समय बेचबिखन र बालविवाहका घटना बढ्न थालेका छन्। मानव बेचबिखनमा संलग्न गिरोहले मोबाइल फोनबाटै मायाप्रेमको नाटक गरेर भारतका कोठीमा बेच्न लैजाँदै गरेकी बैतडीकी १४ वर्षीया बालिकाको घटनाले फोन दुरुपयोगका घटना बढेको थप पुष्टि गरेको छ।
सूचना प्रविधि र इन्टरनेटको पहुँचसँगै पछिल्लो समय मोबाइल फोन र सामाजिक सञ्जालबाट महिला तथा बालिका बढी पीडित हुने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए। प्रवक्ता खड्काले भने, “चिनजान नभएकाबाट यस्तो प्रकारको म्यासेज आएमा पहिचान गर्न विद्यालयस्तरका बालबालिका र अभिभावक सचेत हुनुपर्छ।” गोरखापत्र
प्रकाशित: १३ माघ २०७८, बिहीबार