पुष मसान्तसम्म १४ लाखभन्दा बढी ‘म्याग्नेटिक स्ट्राइप’युक्त कार्ड आयात

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
पुष मसान्तसम्म १४ लाखभन्दा बढी ‘म्याग्नेटिक स्ट्राइप’युक्त कार्ड आयात

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को आधा समय अर्थात् पुष मसान्तसम्म ८ करोड ९ लाख १७ हजार रुपैयाँ बराबरको म्याग्नेटिक स्ट्राइपयुक्त कार्डहरु आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको पुष मसान्तसम्मको प्रतिवेदनमा नेपालमा उक्त परिमाण र रकम बराबरको चुम्बकीय पट्टी अर्थात् म्याग्नेटिक स्ट्राइपयुक्त कार्डहरु आयात भएका देखाएको छ।

के हो म्याग्नेटिक स्ट्राइपयुक्त कार्ड?

सामान्यतया यस्ता चुम्बकीय पट्टीयुक्त कार्डहरुले आफ्ना क्रेडिट कार्ड, डेबिट कार्ड, प्वाइन्ट अफ सेल कार्ड आदिका लागि प्रयोगमा ल्याउँछन्। यसबाहेक कर्मचारी वा भिजिटरको समय तथा हाजिरी ट्र्याकिङका लागि, एक्सेस कन्ट्रोल, लाइब्रेरी कार्ड तथा गिफ्ट कार्डहरुमा समेत प्रयोगमा ल्याइन्छ।

हाइको र लोको कार्ड

यस्ता कार्डहरु विशेषगरी हाइको र लोको गरी दुई प्रकारका हुन्छन्। हाइको अर्थात् हाइ कोर्सिभिटी भएका कार्डहरु कुनै पनि चुम्बकको नजिक पर्दा यसमा स्टोर गरिएका डाटा सजिलै मेटिने वा डिम्याग्नेटाइज गर्न नसकिने हुन्छन्।

त्यसैले यस्ता कार्डहरु क्रेडिट कार्ड, बैंक कार्ड, लाइब्रेरी कार्ड, एक्सेस कन्ट्रोल कार्ड, समय तथा हाजिरी व्यवस्थापन कार्ड तथा कर्मचारीको परिचय पत्रका लागि निकै उपयुक्त मानिन्छन्।

यस्तै लोको अर्थात् लो कोर्सिभिटी कार्डहरु आक्कल झुक्कल प्रयोगका लागि उपयोग गरिन्छन् भने यसमा भण्डारण गरिएका डाटाहरु प्राय: परिवर्तन भइरहन्छन्। त्यसैले यिनीहरु सुपरमार्केटका गिफ्ट कार्ड आदिका लागि प्रयोग गरिन्छ जुन एकै व्यक्तिले धेरै समयसम्म भन्दा पनि धेरै व्यक्तिले थोरै थोरै समय प्रयोग गर्दछन्।

यसरी आयात भएकामध्ये सबैभन्दा सिंगापुरबाट ५ करोड ६ लाख ८५ हजार रुपैयाँ बराबरको ७ लाख १३ हजार ५०६  थान आएका पाइएको छ।

यसपछि भारतबाट ५३ लाख ९६ हजार रुपैयाँ बराबरको ६४ हजार २०२ थान म्याग्नेटिक स्ट्राइपयुक्त कार्डहरु आयात भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै जापान,  अमेरिका तथा बेलायतबाट भने फुटकर रुपमा यस्ता कार्ड भित्रिएका पाइएको छ। यिनीहरुको परिमाणका आधारमा यी कार्डहरु व्यावसायिक प्रयोजनका हिसाबले नभई परीक्षणका हिसाबले ल्याइएको आकलन गर्न सकिन्छ।

बेलायतबाट १८ हजार बराबरको ४ थान, अमेरिकाबाट २ थान तथा जापानबाट १० हजार रुपैयाँ बराबरको १ थान कार्ड आयात भएको तथ्याङ्क छ।

बैंक तथा वित्तीय संस्थाको सङ्ख्या बढ्दै जानु र डिजिटल भुक्तानीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको अवस्थामा यस्ता कार्डहरुको आयातमा बढोत्तरी हुनु स्वाभाविक नै मान्न सकिन्छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार