काठमाडौं ।
गुगलको बहुप्रतिक्षित फोल्डेबल स्मार्टफोन पिक्सेल नोटप्याड केही समययता चर्चामा छ। पछिल्लो लीकमा, फोनको मूल्य र उपलब्धता बारे जानकारी प्राप्त भएको छ। तर, यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यो स्मार्टफोनको मूल्य फोन लन्चसँगै फरक हुन सक्छ।
यदि समाचारलाई विश्वास गर्ने हो भने, यो फोनले सामसङ ग्यालेक्सी जेड फोल्ड ३ जस्तो नभई ओपो फाइण्ड एन जस्तो फोल्डेबल डिजाइन पाउन सक्छ। यसबाहेक, यो फोन गुगलको टेन्सर प्रोसेसरसँग उपलब्ध हुन सक्छ, जसको साथ पिक्सेल ६ डिभाइस हालसालै प्रस्तुत गरिएको थियो।
९टू५गुगलको एक रिपोर्टमा, गुगलको आगामी फोल्डेबल स्मार्टफोनको योजनासँग सम्बन्धित दुई व्यक्तिलाई उद्धृत गर्दै फोनको मूल्य दिइएको छ। गुगलको फोल्डेबल फोनको नाम पिक्सेल नोटप्याड हुनसक्ने बताइएको छ । रिपोर्टका अनुसार अमेरिकामा यसको प्रारम्भिक मूल्य १,३९९ डलर हुनेछ।
यसलाई सामसङ ग्यालेक्सी जेड फोल्ड ३ सँग तुलना गर्दा, सामसङको फोन अमेरिकामा १,७९९ डलरमा लन्च गरिएको थियो। त्यसैगरी पिक्सेल ६ को मूल्य ५९९ डलरमा लन्च गरिएको थियो, जबकि पिक्सेल ६ प्रो को मूल्य ८९९ डलरमा सुरु हुन्छ।
उपलब्धताको कुरा गर्दा, कथित गुगल पिक्सेल नोटप्याडको बारेमा दाबी गरिएअनुसार यो फोन अमेरिका र विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा लन्च हुनेछ। यद्यपि, अमेरिका र अन्तर्राष्ट्रिय प्रक्षेपण बीच थोरै अन्तर हुनेछ। सन् २०२२ को अन्त्यसम्ममा यसलाई अन्तर्राष्ट्रिय स्तरमा लन्च गर्न सकिने बताइएको छ। एउटा पुरानो रिपोर्टले भने यो फोनले सीमित बजारमा मात्र इन्ट्रि गर्ने दाबी गरेको छ।
प्रकाशित: १३ माघ २०७८, बिहीबार