क्रिप्टो करेन्सी तथा भर्चुअल करेन्सीलगायतको कारोबार नगर्न बैंकर्स सङ्घको आग्रह

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
क्रिप्टो करेन्सी तथा भर्चुअल करेन्सीलगायतको कारोबार नगर्न बैंकर्स सङ्घको आग्रह

काठमाडौं ।

नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार तथा व्यवसाय गैरकानूनी भएको जनाएको छ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन सङ्घले एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानूनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो। सङ्घले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटवर्क मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आबद्द भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, सङ्घले जारी गरेको सूचनामा भनिएको छ।

नेपाल राष्ट्र बैंकलेसमेत यसअघि नै पटक पटक सूचना जारी गर्दै भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानूनी भएको भन्दै मङ्गलबार राजस्व अनुसन्धान विभागले सो कारोबारमा संलग्न भएकोमा एकै परिवारका तीनसहित चार जनाविरुद्ध रु ३७ करोड बढी माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

त्यसैगरी नेपाल प्रहरीले समेत क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा विभिन्न समयमा मानिसहरुलाई पक्राउ गरिरहेको छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...