
काठमाडौं ।
आधा गिलास पानीले एक पटकमा ७ किलोसम्मको कपडा (५ जोडी लुगा वा ६ प्यान्ट र ४ सर्ट) सफा गर्न सकिने वासिङ मेसिन तयार पारिएको छ।
भारतको चितकारा विश्वविद्यालयका विद्यार्थी र शिक्षकले मिलेर दुई वर्षको मेहनतपछि यस्तो वासिङ मेसिन तयार गरेका हुन् । यो मेसिन आफ्नै होस्टलमा मात्र नभई केही अस्पताल र बेकरीमा पनि प्रयोग भइरहेको भारतीय मिडिया दैनिक भास्करको अनलाइन संस्करणले रिपोर्ट गरेको छ।
यो नयाँ प्रविधियुक्त वासिङ मेसिनको पेटेन्ट पनि भइसकेको छ। यसमा सवारी साधनको इन्जिनको रेखाङ्कित आधारमा प्रविधिको प्रयोग गरिएको छ।
यसले केवल ८० सेकेन्डमा नै कपडा सफा गर्ने भएकाले यसलाई ‘एट्टी वास’ नाम दिइएको छ। यस मेसिनको प्रोडक्शन यूनिट स्थापनाका लागि भारतको हिमाचल सरकारले छिट्टै बद्दी भन्ने ठाउँमा स्थानमा दिने सम्झौता गर्न सक्ने रिपोर्टमा उल्लेख छ।
विश्वविद्यालयका विद्यार्थी र शिक्षकले मिलेर बनाए
विश्वविद्यालयका इन्जिनियरिङ विद्यार्थी रुबल गुप्ताले यो मेसिन डिजाइन गरेका हुन्। उनका गाइड एसोसिएट डीन रिसर्च डा. नितिन कुमार सलुजा र वरिन्दर सिंह हुन्।
डा. नितिन भन्छन्, “कोरोनाको यो समयमा अस्पतालका लागि ठूलो समस्या थियो। त्यहाँ च्यादर र लुगा छिटो फेर्नुपर्ने आवश्यक थियो। सामान्य वाशिङ मेसिनमा लुगा धुन र सुकाउन केही घण्टा वा केही दिन पनि लाग्थ्यो। यो मेसिनले पानीसँगै समयको पनि बचत गर्छ।”
यसपटक भारतको अटल इनोभेसन र्याङ्किङमा निजी विश्वविद्यालयको विधामा चितकारा दोस्रो स्थानमा परेको छ।
गन्ध र संक्रमण पनि हटाउँछ
यसमा, ब्याक्टेरिया र कीटाणुहरू केवल ८० सेकेन्डमा नै सफा हुन्छन्। यसमा रेडिएसन टेक्नोलोजीद्वारा फोहोरलाई पूर्ण रूपमा हटाइन्छ। यो मेसिनले दुर्गन्ध र संक्रमण पनि हटाउने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १२ माघ २०७८, बुधबार