
काठमाडौं ।
भारतको सबैभन्दा बढी बिक्री हुने विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हीरो इलेक्ट्रिकले पाँचौं ठूलो यात्रु कार ब्रान्ड महिन्द्रा समूहसँग तालमेल सिर्जना गर्न रणनीतिक साझेदारी बनाएको छ। द इकोनोमिक टाइम्स र इलेक्ट्रोनिक्स बी२बीका अनुसार, महिन्द्राले पेश गरेको आधिकारिक कागजातहरूमा, साझेदारी पाँच वर्षसम्म हुने र १.४ अर्ब देखि १.५ अर्ब भारु बीचको रकम छ।
दुई उत्पादकहरूले साझेदारीमार्फत एक अर्कालाई क्षमता र अन्य स्रोतहरू उपलब्ध गराउन सक्षम हुनेछन्। महिन्द्राले हिरो इलेक्ट्रिकको विद्युतीय सवारी (इभी) लाई भारतको पीतमपुरमा उत्पादन लाइनमा उत्पादन गर्नेछ। यसका साथै हिरो इलेक्ट्रिकलाई बिस्तार गर्न र उत्पादन क्षमतालाई वार्षिक १० लाख युनिटसम्म पुर्याउन मद्दत गर्ने रिपोर्टमा उल्लेख छ।
महिन्द्रा भारतमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको निर्माता हो, जबकि यसको इभीहरु त्यति प्रतिस्पर्धी छैनन्।
रिपोर्टअनुसार महिन्द्रा र हिरो इलेक्ट्रिकले महिन्द्राको स्वामित्वमा रहेको युरोपेली ब्रान्ड प्यूजो मोटरसाइकल अन्तर्गतका उत्पादनहरू सहित ई-स्कुटरहरू निर्माणलाई गति दिन साझा मोड्युलर प्लेटफर्मको सह विकास गर्नेछन्।
अर्को भारतीय दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी टिभीएस मोटरले साझा मोड्युलर इभी प्लेटफर्म विकास गर्न यसअघि नै बीएमडब्लुसँग काम गर्न थालेको छ।
भारतका शीर्ष-३ ई-स्कुटर निर्माताहरू, हिरो इलेक्ट्रिक, ओकिनावा अटोटेक, र एथर इनर्जीले प्रत्येक वर्ष लगभग १ लाखदेखि २ लाख युनिटहरू उत्पादन गर्न सक्षम छन्, जबकि तथ्यांकअनुसार विद्युतीय दुई पाङ्ग्रे सवारीहरूको वार्षिक बिक्री गत वर्ष १ लाख ४० हजार युनिट मात्र थियो।
हिरो इलेक्ट्रिकले सन् २०२६ मा प्रतिवर्ष ५० लाख युनिट क्षमता बढाउने योजना बनाएको छ। एथर इनर्जीले भारतको होसुरमा पनि ४ लाख युनिटमा क्षमता विस्तार गरिरहेको छ।
युनिकर्न स्टार्टअप ओला इलेक्ट्रिकले वार्षिक १ करोड युनिटको क्षमतामा पुग्ने लक्ष्य राखेको छ, तर एफएडीएको डाटाले गत वर्ष कम्पनीले २३८ युनिटहरू बेचेको देखाएको छ।
प्रकाशित: १२ माघ २०७८, बुधबार