
काठमाडौं ।
बेलायतको लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी आफ्ना सम्पूर्ण सेवावापतको शुल्कहरु कार्ड भुक्तानीबाट मात्र लिने बताएको छ।
दूतावासले सोमबार एक सूचनामार्फत अबदेखि बैंक कार्डमार्फत मात्र सेवा शुल्क लिने जानकारी गराएको हो। दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै माएस्ट्रो कार्ड) मार्फत लिइने जारी सूचनामा उल्लेख गरिएको छ।
दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवा शुल्क नगद कारोबार मात्रै गर्दै आइरहेको थियो। कार्ड पेमेन्ट स्वीकार नगर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि दूतावासले कार्ड भुक्तानी लागू गर्न थालेको उल्लेख छ।
बेलायतमा लागभग सबै आर्थिक कारोबार कार्डमार्फत नै हुने र काम छिटो पनि हुने हुँदा यो नयाँ व्यवस्था सञ्चालनमा ल्याउन लागेको दूतावासले जनाएको छ।
प्रकाशित: ११ माघ २०७८, मंगलवार