टेलिफोनका तार चोरी गर्ने पाँच जना काठमाडौंमा पक्राउ

  • Technology Khabar | ११ माघ २०७८, मंगलवार
टेलिफोनका तार चोरी गर्ने पाँच जना काठमाडौंमा पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

टेलिफोनको तार चोरी गर्ने ५ जनालाई नेपाल प्रहरीले सोमबार पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका-७ घर भएका प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका-२ घर भएका नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर, काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका गोबिन्द साउँद र काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका प्रबिन कार्की रहेका छन् ।

उक्त स्थानमा टेलिकमको तार चोरी भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ -०१-०२३ च.४३०१ नम्बरको गाडी जंगलतर्फ गईरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा फेला पारेको थियो। साथै उनीहरुको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र १ सय १४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ।

उनीहरु उपर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसैबीच टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई मेची प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् । मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ।

मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए । बर्मनलाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार