
काठमाडौं ।
चिनियाँ टेलिकम उपकरण जायन्ट ह्वावेले अमेरिकी प्रतिबन्धपछि अब चीनमा नै चिप उत्पादनका लागि बाहिरी लगानी संकलन गर्ने भएको छ।
कम्पनीले अमेरिकी दबाब चलिरहँदा हालै चीनमा बाहिरी लगानी भित्र्याउन सक्ने इजाजत लिएको हो।
अमेरिकाले ह्वावेका उपकरण चीनले जासूसीका लागि प्रयोग गरेको हुन सक्ने आरोप लगाउँदै ह्वावेमाथि प्रतिबन्ध लगाउँदै आएको छ।
उक्त प्रतिबन्ध अनुसार समुद्रपारका चिप कम्पनीले ह्वावेलाई सेमिकन्डक्टर चिप लगायतका अत्यावश्यक उपकरणहरु निर्यात गर्न पाउँदैनन्। तर ह्वावेले भने उक्त आरोपलाई निरन्तर रुपमा खण्डन गर्दै आएको छ।
रोयटर्सका अनुसार ह्वावेले सन् २०१९ अप्रिलमा स्थापना गरेको हाबो इन्भेस्टमेन्ट्स गत जनवरी १४ मा एसेट म्यानेजमेन्ट एसोसियशन अफ चाइनामा निजी कोष संकलकमा रुपमा दर्ता भएको हो। यसले कम्पनी बाहिरका लगानीकर्ता खोज्नमा ध्यान केन्द्रित गर्ने बुझिएको छ।
४७ करोड २२ लाख डलर दर्ता पुँजी भएको हाबोले स्थापना भएदेखि यता शेयरका लागि २० ओटा चिनियाँ प्रविधि कम्पनीहरुसाग सम्झोता गरिसकेको तथ्याङ्क छ।
प्रकाशित: ७ माघ २०७८, शुक्रबार