
काठमाडौं ।
अमेरिकी दूरसञ्चार सेवा प्रदायक एटीएन्डटी तथा भेरिजोनले उडानमा आउने व्यवधानलाई मध्यनजर गर्दै मुख्य विमानस्थल नजिक फाइभजी परिचालन अस्थायीरुपमा स्थगित गर्न सहमत भएका छन्।
यी दुवै कम्पनीले उच्चगतिको वायरलेस सेवाका लागि फाइभजीको सम्पूर्ण पूर्वाधार तयार पारिसकेको र आज जनवरी १९ बाट परिचालन गर्ने तय भएकोमा मुख्य विमानस्थल नजिकका टावरहरुलाई तत्काल सञ्चालनमा नल्याउने भएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त निर्णयको प्रशंसा गर्दै भनेका छन्, ‘यसले योजनाबद्ध रुपमा ९० प्रतिशतभन्दा बढी वायरलेस टायरलाई अनुमति दिँदा यात्रुवाहक तथा कार्गो विमानमा पर्न जाने सम्भाव्य अवरोध तथा त्यसबाट हुने हाम्रो आर्थिक सुधारमाथि पर्ने नकारात्मक प्रभावलाई हटाउनेछ।’
गत मंगलबार संघीय उड्डयन प्रशासनले रेडियो अल्टिमिटर प्रयोग गर्नुपर्ने मुख्य विमानस्थलहरुको सूची जारी गरेको थियो जसमा न्यूयोर्कको जेएफके तथा लागार्डिया, लस एञ्ज्लस, शिकागोको ओ’हारे तथा मिडवेका साथमा सान फ्रान्सिस्को तथा सियाटलका विमानस्थल लगायतका रहेका थिए।
एफएएले केही समयभित्र अनुमोदित उपकरणका साथमा एयरबस तथा बोइङ विमानका सूची पनि निकाल्ने अपेक्षा गरिएको छ। यो अपडेटले एफएएले जारी गरेका फाइभजीमाथिको कडाइसम्बन्धी १५०० जति सूचनाको प्रभावलाई निकै कम गर्ने बुझिएको छ।
प्रकाशित: ५ माघ २०७८, बुधबार