
काठमाडौं ।
अहिलेको समयमा जब प्रयोगकर्ताहरूले बजेट स्मार्टफोनहरूमा पनि ५जी प्रविधिको अपेक्षा गर्न थालेका छन्, त्यस्तोमा बेन्कोले जीपीएस र क्यामरा बिनाको बेन्को भी८०एस (Benco V80s) स्मार्टफोन लन्च गरेको छ।
फोनमा मिड बजेट रेन्जका सबै सुविधाहरू छन् तर यसमा अगाडि र पछाडि क्यामराको अभाव छ। यति मात्र होइन, कम्पनीले यस स्मार्टफोनमा जीपीएस फिचर पनि दिएको छैन। ठूलो ६.५ इन्चको डिस्प्ले र यूनिसोक एससी९८८६३ए (Unisoc SC9863A) चिपसेटयुक्त यो फोन दुई रङ भेरियन्टमा आउँछ।
यसमा क्यामरा र जीपीएस सुविधा नभएको कारण पनि कम्पनीले बताएको छ।
बेन्को भी८०एस मूल्य, उपलब्धता
गीज्मोचाइनाको रिपोर्ट अनुसार, बेन्को भी८०एस को मूल्य कम्पनीले जारी गर्न बाँकी छ। यसमा क्यामरा र जीपीएस नभएकोले यसले थप गोपनीयता दिने कम्पनीले जनाएको छ। यसमा दुबैतर्फ क्यामरा नभएको र जीपीएसजस्ता फिचर नभएकाले फोनको मूल्य निकै कम हुन सक्नेछ । यो दुई रंग भेरियन्टमा आउँछ – सिल्भर र ब्लू।
बेन्को भी८०एसका स्पेसिफिकेसन
बेन्को भी८०एसमा १६००x७२०पीक्सेलको रिजोल्युसनको साथ ६.५ इन्चको डिस्प्ले राखिएको छ। यसको एस्पेक्ट रेसियो २०:९ छ र बेजेलहरू एकदम बाक्लो छन्। स्क्रिनको माथिल्लो भागमा नच पनि दिइएको छ तर यसमा सेल्फी क्यामेरा छैन। ह्यान्डसेटमा युनिसोकको प्रोसेसर तथा ४ जीबी र्याम र ६४ जीबी आन्तरिक भण्डारण रहेको छ। माइक्रो एसडी कार्डको सहायताले पनि यसको भण्डारण बढाउन सकिन्छ।
बेन्को भी८०एस स्मार्टफोनको अपरेटिङ सिस्टमको बारेमा कुरा गर्दा, यो एन्ड्रोइड ११ सपोर्टेड छ। ह्यान्डसेटको पछाडि फिंगरप्रिन्ट सेन्सर लगाइएको छ। यसमा टूजी, थ्रीजी र फोरजीका साथ डुअल ब्यान्ड वाइफाइ सपोर्ट पनि छ।
क्यामरा र जीपीएस फिचर नहुँदा फोनको सुरक्षा बढ्छ भनेर भन्न सकिन्न, तर सेकेन्डरी फोन लिन चाहनेहरूका लागि बेन्कोको यो स्मार्टफोन सस्तो विकल्प हुनसक्छ।
प्रकाशित: ५ माघ २०७८, बुधबार