गोरखामा विद्युतीय राहदानी सेवा सुरु

  • Technology Khabar | ५ माघ २०७८, बुधबार
गोरखामा विद्युतीय राहदानी सेवा सुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरु गरेको छ। मङ्गलबार पहिलो दिन १० जना सर्वसाधारणले विद्युतीय राहदानी फारम भराएका छन्।

काठमाडौँबाट आएका प्राविधिक टोलीले आवश्यक यन्त्र उपकरण जडान गरी मङ्गलबारदेखि अलनाइनमार्फत आवेदन लिन सुरु गरिएको प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए।

नेपाल सरकारले विद्युतीय राहदानी सेवा सुरु गर्ने तयारी गरेसँगै केही दिनयता पुरानो सेवा बन्द गरिएको थियो । अब भने विद्युतीय सेवामार्फत राहदानी फारम सङ्कलनको काम सुरु गरिएको भट्टराईले बताए ।

“अहिले पनि सेवाग्राही आफैंले फारम भरेर लैजान सक्नेछन् । भीडभाड बढी हुने हुँदा प्रशासनले फारम भर्न नभ्याउन सक्छ तर फोटो खिच्ने , औँठाको छाप लिने, आँखा तस्बिर लिने जस्ता बायोमेट्रिक विवरण भने हामीनै सङ्कलन गर्छौं,” उनले भने ।

त्यसपछि फारम पनि अनलनाइन प्रविधिमा राहदानी विभागमा पठाइने छ।विभागले राहदानी तयार गरी हुलाक कार्यालयमार्फत सम्बन्धित जिल्लामा पठाउने उनले बताए ।

द्रुतगतिमा राहदानी बनाउन चाहनेले भने विभागमै गएर सम्पर्क गर्नुपर्ने हुन्छ।

“द्रुतसेवा लिन चाहनेले पनि पहिले जस्तो फारम बोकेर जानु पर्दैन, फारम हामीले नै पठाइदिन्छौँ,” उनले भने, विभागमा गएर आफूलाई किन द्रुत राहदानी चाहिएको हो भन्ने बेहोरासहितको निवेदन दिनुपर्छ, त्यसपछि राहदानी विभागले पहिले जस्तै गरी दोब्बर दस्तुर मा द्रुत राहदानी दिनेछ।”

केही दिन परीक्षणका रूपमा दैनिक १०/१२ वटा फारम भरेर हेर्ने अनि सेवालाई विस्तार गर्ने योजना जिल्ला प्रशासन कार्यालय गोरखाले बनाएको छ । गोरखामा दैनिक सरदर ५० भन्दा बढिले राहदानीका लागि आवेदन दिने गरेका छन्।

विद्युतीय राहदानी एमआर पीभन्दा पनि सजिलो र प्रभावकारी हुने भट्टराईको दाबी छ । विभागले बताए अनुसार फारम भरेको १०/१२ दिनमै सर्वसाधरणले राहदानी पाउने भएकाले दु्रत सेवा लिनुपर्ने बाध्यता पनि हटेर जाने उनको विश्वास छ। गोरखापत्र

प्रकाशित: ५ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...