
काठमाडौं ।
पछिल्लो समयमा ई-पासपोर्ट जारी गरिरहेको राहदानी विभागले १५ जनाभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएसँगै पासपोर्ट जारी गर्ने काम तत्कालका लागि सीमित गर्ने भएको छ।
राहदानी विभागले सार्वजनिक सूचना जारी गर्दै यस पूर्व विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरिएको जनाएको छ। अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागको भनाई छ।
विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा इमेलमा ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारण सहित अनुरोध गर्न सकिने छ।
त्यसैगरी सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने भएकोछ। निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आउन सक्नेछन्।
विभागमा विद्युतिय पासपोर्टको काम सिमित भएपनि जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने जनाएको छ।
प्रकाशित: ५ माघ २०७८, बुधबार