
काठमाडौं ।
-साजन सुवेदी
सिंगापुर र नेपाल दुवै ठाउँबाट सञ्चालित खुद्रा कर्पले बहुराष्ट्रिय डिजाइन तथा क्रियटिभ संस्था योद्धा स्टुडियोजको स्वामित्व ग्रहण गरेको छ।
कम्पनीका अनुसार यो सम्झाैता गत डिसेम्बरको अन्त्यमा भएको र योद्धा स्टुडियोज अब खुद्रा कर्प अन्तर्गतकै कम्पनीका रुपमा अघि बढ्ने कर्पका संस्थापक शशांक दासले जानकारी दिए।
खुद्रा कर्प एउटा ग्लोबल भेन्चर स्टुडियो तथा होल्डिङ कम्पनी हो र यसको मुख्य उद्देश्य विभिन्न उत्पादन, भेन्चर तथा स्टार्ट अपका माध्यमबाट दिगो प्रविधि-मैत्री समुदायको निर्माण गर्नु हो।
‘अ प्लेटफर्म फर अल’ नारा रहेको कर्पको मुख्य कार्यक्षेत्र ब्रान्ड, भेन्चर तथा प्रडक्ट रहेको दासको भनाइ छ।
अर्कोतर्फ योद्धा स्टुडियोज बहुराष्ट्रिय डिजाइन तथा क्रियटिभ संस्था हो। नेपाल र भारत दुवै ठाउँमा रहेको यो संस्थाले मजबुत ब्रान्ड सिर्जना गरेर कम्पनीहरुलाई अगाडि बढ्न सहयोग गर्छ।
करिब २० बहुराष्ट्रिय कम्पनीहरुका लागि काम गर्दै आएको योद्धाले सिंगापुर, नेपाल तथा भारतमा आफ्ना सेवा विस्तार गर्ने सोच राखेको छ।
यसरी थुप्रै कम्पनीलाई सन्तुष्टिजनका सेवा पुर्याएको योद्धा स्टुडियोजको स्वामित्व ग्रहण गर्न पाउँदा खुशी लागेको दासले बताए।
यो सम्झाैताका बारेमा बताउँदै दासले खुद्रामा रहेका विविध क्षेत्रका विज्ञहरुले योद्धाको सेवा विस्तार गरेर यसलाई स्टार्टअपबाट पूर्ण रुपको कम्पनीमा परिणत गर्ने जानकारी दिए।
सम्झाैता रकम नखुलाउने शर्तमा भएको सम्झाैता भएकाले यी दुई कम्पनीबीच कति रकममा कारोबार भयो भन्ने खुलाइएको छैन।
के हो भेन्चर स्टुडियोको अवधारणा?
स्टार्टअप स्टुडियो बिजनेस मोडलका रुपमा चिनिने भेन्चर स्टुडियो थुप्रै विविध कम्पनीलाई तीव्र गतिमा सफल बनाउनका लागि काम गर्ने कम्पनीको अवधारणा हो।
यस्ता स्टुडियोले नयाँ कम्पनी निर्माण गरेर आफ्ना अनुभवहरुलई ती कम्पनीमा उपयोग गर्दै सफलतातर्फ अघि बढाउने गर्दछन्।
खुद्रा कर्पोरेशनले कसरी काम गर्छ?
‘भेन्चर स्टुडियो नेपालका लागि नाैलो अवधारणा हो। यदि कसैसँग कुनै व्यवसायको अवधारणा छ भने हामीलाई आएर सुनाउन सक्नुहुन्छ। त्यसपछि हामी हाम्रा टिममा रहेका विज्ञहरुद्वारा बजार अनुसन्धान गराएर उक्त अवधारणा अगाडि बढ्न सक्छ या सक्दैन भन्नेबारेमा जानकारी दिन्छाैं’, कर्पका संस्थापक दासले भने।
उनका अनुसार उक्त अवधारणाका लागि आवश्यक प्रडक्ट बनाउनेदेखि चरणबद्ध रुपमा अगाडि बढाउँदै लगानी कति लाग्छ र सही लगानीकर्ता को हुनसक्छ भन्नेसम्मको गहन अध्ययन गरेर स्टार्टअपसम्म पुर्याउने कर्पोरेशनको काम हो।
यसबाहेक राम्रा काम गर्न खोजेका तर आवश्यक प्लेटफर्म नपाइरहेका भर्खरै शुरु गरिएका कम्पनीहरुको स्टेक अर्थात् शेयर लिएर वा स्वामित्व नै लिएर काम गर्ने र हालको योद्धा स्टुडियोको स्वामित्व ग्रहण गर्ने प्रक्रिया पनि त्यसै अनुरुप भएको दासले बताए।
आजभन्दा ३ वर्षअघि सिंगापुरमा अध्ययनका क्रममा शशांक तथा उनका सहपाठीहरुले शुरु गरेको यो अवधारण सिंगापुरमा राम्रै चलेकाले यसलाई स्वदेशमा पनि शुरु गर्न हाैसला मिलेको उनले बताए।
यसअघि अथर्व तथा आईएमईसँग मिलेर डिजिटल गाउँ अभियान गरेको खुद्रा कर्पले त्यसको सफलताका कारण शहरी स्टार्टअपका क्षेत्रमा पनि केही गर्न सकिन्छ कि भनेर काम गरिरहेको बुझिएको छ।
अन्य भेन्चर स्टुडियोहरुले पनि राम्रै काम गरिरहेका बेला बिजनेस आइडियालाई सही लगानीकर्तासँग जोड्ने र यसका लागि आवश्यक परेका सबै विज्ञता एउटै छानामुनि उपलब्ध गराउने खुद्राको उद्देश्य रहेको दासले बताए।
प्रकाशित: ४ माघ २०७८, मंगलवार