ग्रामीण जनताले सुलभ दूरसञ्चार सेवा पाउने गरी काम गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रीको निर्देशन

  • Technology Khabar | ३ माघ २०७८, सोमबार
ग्रामीण जनताले सुलभ दूरसञ्चार सेवा पाउने गरी काम गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रीको निर्देशन
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिलो पटक नेपाल दूरसञ्चार प्राधिकरण निरिक्षणको क्रममा जमल पुगेका छन्।

सञ्चार मन्त्रीको रुपमा बहाली भएको ३ महिनापछि उनी पहिलो पटक प्राधिकरण पुगेका हुन्। सो निरिक्षणको क्रममा मन्त्री कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।

निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो आधारभूत सेवाबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था आउन नदिन तदारुकताका साथ योजना कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताए।

“कोरोनाको नाममा कुनैपनि किसिमको ढिलासुस्ती नगर्नुहोला, यस क्षेत्रका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्छ। प्राधिकरणलाई आवश्यक नीतिगत सहयोग गर्न सरकार तयार छ,” उनले भने।

उनले कागतमा भन्दा पनि भौतिकरुपमा काम गर्न प्राधिकरणलाई निर्देशन दिए।

कार्यक्रममा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले नयाँ दूरसञ्चार ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको एवं दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गरी नयाँ सूचना प्रविधि नीति ल्याउन पहल भइरहेको जानकारी दिए।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणबाट सम्पादित विभिन्न कार्यक्रमका बारेमा जानकारी दिँदै दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन आवश्यक नीतिगत सुधारका बारेमा प्रकाश पारेका थिए। उनले हालसम्म भए गरेका कार्य र प्रगतिको बारेमा मन्त्री र सचिवलाई जानकारी गराए।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया