
काठमाडौं ।
नेपाल टेलिकमले माघ ३ गते सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ (Winter Offer 2078) उपलब्ध गराउने भएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो।
अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ। पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ ।
यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । टेलिकमकाअनुसार डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता हो।
सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ।
यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ ।
पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने जनाएको छ।
यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ। अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ। कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।
प्रकाशित: २ माघ २०७८, आईतवार