
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले ई.लिंक नेट प्रालिलाई अनुमति बिना कम्पनीको शेयर खरिद बिक्री गरेको भन्दै कारबाही गरेको छ।
सो इन्टरनेट सेवा प्रदायकले दूरसंचार नियमावली, २०५४ को नियम १५ (ट) तथा नेपाल दूरसंचार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को व्यवस्था बमोजिम प्राधिकरणको पूर्व स्वीकृती लिएर मात्र शेयर धनी परिवर्तन गर्नु पर्नेमा उक्त व्यवस्था विपरितको कार्य गरेको भन्दै नियमनकारी निकायको पुस ५ गते बसेको बोर्ड बैठकले कारबाही गर्ने निर्णय गरेको हो।
कम्पनीले प्राधिकरणबाट स्वीकृती नै नलिईकन सिधै कम्पनीको शेयरधनी परिवर्तन गरी मिति २०७८ असोज १० को पत्रबाट कम्पनी रजिष्ट्रारको कार्यालयको पत्र सहित जानकारीको लागि पेश गरेको थियो।
तर दूरसञ्चार नियमावली तथा निजलाई प्रदान गरिएको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्रका शर्त विपरीत कार्य गरेको पाईएकोले सो कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम कारवाही गर्नका लागि १५ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
७५ प्रतिशत भन्दा बढी मर्मत शुल्क असुलीमा कारबाही
यसैगरी फिक्स्ड वायर्ड ब्रोडब्याण्ड सेवाको ५० प्रतिशतसम्म मर्मत शुल्क लिन पाउने प्राबधान विपरित ग्राहकहरुबाट ७५ प्रतिशत भन्दा बढी मर्मत शुल्क असुल गरी नियमावली विपरीत काम गरेको साथै निजलाई प्रदान गरिएको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्रका शर्त विपरितका कार्यहरु गरेको भन्दै छुट्टै कारबाही गरेको हो ।
कम्पनीले प्राधिकरणमा पेश गरेको स्पष्टिकरणमा अर्धदक्ष तथा अदक्ष कर्मचारीहरुबाट बिल जारी गर्दा त्रुटी भएको भनी गल्ती स्विकार गरेको तथा, अदक्ष कर्मचारीहरुको कारण डिभाइसहरुको मूल्यलाई सपोर्ट एण्ड मनिटरिंग शुल्कमा लेखांकन गरिएकोले सपोर्ट एण्ड मनिटरिङ्ग शुल्क ५० प्रतिशत भन्दा बढी भएको भन्दै आगामी दिनमा यस प्रकारको त्रुटि नदोहोर्याउने प्रतिवद्धता समेत जाहेर गर्दै स्पष्टीकरण पेश गरेको थियो।
जसअनुसार कम्पनीले पहिलो पटक अनुमतिपत्रका शर्त बिपरितका कार्य गरेको पाईएकोले एक पटकको लागि प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका शर्तहरु पूर्ण पालना गर्ने तर्फ ध्यानाकर्षण गराउदै दूरसञ्चार ऐन, २०५३ दफा ४७ (२) बमोजिम १० हजार रुपैयाँ जरीवाना गराएको छ।
प्रकाशित: २ माघ २०७८, आईतवार