
काठमाडौं ।
भारतले अब वार्षिकरुपमा जनवरी १६ तारिखलाई राष्ट्रिय स्टार्टअप दिवसको रूपमा मनाउने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार घोषणा गरेअनुसार आज भारतभर स्टार्टअप दिवस मनाउन लागिएको हो।
यसले भारतभर स्टार्टअप संस्कृति अझ राम्रो फैलाउन मद्दत गर्न घोषणा गरिएको थियो।
भारतीय प्रधानमन्त्री मोदीले स्टार्टअप इन्डिया इनोभेसन वीकको एक भागको रूपमा विभिन्न स्टार्टअपहरूसँग कुराकानी गर्दै उनले घोषणा गरेका थिए। शनिबार १५० भन्दा बढी नवउद्यमीहरूसँगको भर्चुअल भेलामा प्रधानमन्त्री मोदीले राष्ट्रको आर्थिक वृद्धिलाई बल दिने इन्जिनका रूपमा स्टार्टअप व्यवसायलाई व्याख्या गरेका थिए।
इन्डिया टुडेकाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “२०१४ अघिको युगमा महानगरहरूमा मात्रै ठूला व्यवसायहरू फस्टाउँदै थिए, आज देशका ६२५ जिल्लामा कम्तीमा एउटा स्टार्टअप छ।”
“ती मध्ये, आधा टियर २ र टियर ३ शहरहरूमा छन् जहाँ गरिब र साधारण परिवारका युवाहरू स्टार्टअपहरू विकासमा संलग्न छन्,” उनले भने, “परिणामस्वरूप लाखौंले रोजगारी पाइरहेका छन् जुन विश्वव्यापी महामारीको समयमा पनि भारतमा स्टार्टअपहरू बढेको गति र मापनले देखाउँछ।”
उनले भारतीय आविष्कारकर्ता र उद्यमीहरूलाई आफ्नो सपना स्थानीयस्तरमा मात्र नराख्न आग्रह गर्दै सरकारले रेकर्ड समयमा आयोजना गरेको सयौं ह्याकाथनले देशका लागि धेरै समाधान दिएको बताए।
प्रधानमन्त्री मोदीले स्टार्टअपको स्वर्ण युग सुरु भएको बताए।
प्रकाशित: २ माघ २०७८, आईतवार