
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्ममाथि बेलायतमा २ अर्ब ३० करोड डलर माग गर्दै मुद्दा परेको छ।
फेसबुकमाथि साढे ४ करोड यूजरहरुको व्यक्तिगत डाटा संकलन र तोडमोड गर्नका लागि आफ्नो बजारको वर्चस्वको दुरुपयोग गरेको आरोप छ।
बेलायतको वित्तीय व्यवहार संस्था एफसीएकी वरिष्ठ सल्लाहकार लिजा लोभ्डाल-गर्म्सनले २०१५ देखि २०१९ सम्म फेसबुक चलाएका बेलायती जनताका तर्फबाट यो मुद्दा दायर गरेकी हुन्।
मुद्दाको मुख्य आरोप भनेको फेसबुकले यूजरहरुमाथि अवाञ्छित शर्तहरु लादेर यूजरलाई आफ्ना अमूल्य व्यक्तिगत विवरण शेयर गर्नैपर्ने बाध्यता पार्दै अर्बो पाउन्ड रकम कमाएको भन्ने हो।
गर्म्सनले फेसबुक बेलायतमा आफ्नाहरुसँग जोडिन सहयोग गर्ने सामाजिक सञ्जाल भएको स्वीकार गर्दै यसको नकारात्मक पक्ष पनि रहेको दावी गरेकी छिन्। उक्त प्लेटफर्मले फेसबुक पिक्सेलमार्फत् व्यक्तिगत विवरण संकलन गरेको उनको आरोप छ।
फेसबुक पिक्सेल विज्ञापनकर्तालाई आफ्ना उपभोक्ताको व्यवहार ट्र्याक गर्न सहयोग पुर्याउने टूल हो।
यस सम्बन्धमा फेसबुकले भने आफूहरुले उपयोगी सेवा दिएका कारण मानिसहरुले ती सेवा चलाइरहेका र मेटाका प्लेटफर्ममा के विवरण शेयर गर्ने वा नगर्ने भन्ने कुराको नियन्त्रण उनीहरुसँगै रहने जवाफ दिएको छ।
प्रकाशित: १ माघ २०७८, शनिबार