
काठमाडौं ।
ह्वाइट हाउसले गुगल एप्पल.अमेजन तथा आईबीएमका कार्यकारीसँग आगामी मंगलबार छलफल गर्ने भएको छ।
पछिल्लो समय अमेरिकामा विभिन्न ठूला साइबर हमला भएकाले सफ्टवेयर सुरक्षालाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेबारेमा छलफल हुने रोयटर्सले जनाएको छ।
गत वर्षको डिसेम्बरमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यी मुख्य प्रविधि कम्पनीका कार्यकारीहरुलाई विश्वका थुप्रै संस्थाहरुले आफ्ना एप्लिकेशनमा डाटा लग गर्नका लागि प्रयोग गर्ने लग४जे नामक ओपनसोर्स सफ्टवेयरमा जोखिम भेटिएको जानकारी दिएका थिए।
उक्त पत्रमा सुलिभानले यस्ता ओपनसोर्स सफ्टवेयर व्यापक रुपमा प्रयोग गरिने र यसको व्यवस्थापन स्वयंसेवकहरुले गर्ने भएकाले यो राष्ट्रिय सुरक्षाको मुख्य चुनोती बनेको उल्लेख गरेका थिए।
मंगलबारको छलफल साइबर तथा उदीयमान प्रविधिका लागि उप राष्ट्रिय सुरक्षा अधिकारी एनी न्यूबर्गरले आयोजना गर्ने र यसमा ओपन सोर्स सफ्टवेयरको सुरक्षा तथा यसलाई सुधार गर्ने उपायका बारेमा छलफल हुन ह्वाइटहाउसले विज्ञप्तिमा उल्लेख गरेको छ।
छलफलमा फेसबुक, माइक्रोसफ्ट रओर्याकलका कार्यकारी तथा विभिन्न सरकारी प्रतिनिधिको पनि उपस्थिति रहने बुझिएको छ।
प्रकाशित: ३० पुष २०७८, शुक्रबार