
काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) को ४० प्रतिशत लाभांश पारित भएको छ । एनसिएचएलको पुस २८ गते सम्पन्न दशौं साधरण सभाले उक्त लाभांश पारित गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको र अघिल्लो आवको ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आव २०७७/७८मा कम्पनीको खुदनाफा ३८ % ले वृद्धि भएको सभाले जनाएको छ।
त्यसैगरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषकोअनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्र वृद्धि भएको हो।
बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ। विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
प्रकाशित: २८ पुष २०७८, बुधबार