टाटा टेलिसर्भिसेजले ब्याजको बदलामा भारत सरकारलाई ९.५ प्रतिशत सेयर दिने

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
टाटा टेलिसर्भिसेजले ब्याजको बदलामा भारत सरकारलाई ९.५ प्रतिशत सेयर दिने

काठमाडौं ।

भोडाफोन आइडिया पछि, टाटा समूहको दूरसञ्चार कम्पनी टाटा टेलिसर्भिसेजको बोर्डले पनि एजीआर (समायोजित ग्रस राजस्व) बक्यौताको सम्पूर्ण ब्याज रकमलाई इक्विटी (शेयर) मा रूपान्तरण गर्ने निर्णयलाई पारित गरेको छ।

टाटा टेलिसर्भिसेजको यो निर्णयसँगै अब भारत सरकारको कम्पनीमा ९ दशमलव ५ प्रतिशत सेयर रहनेछ। कम्पनीले एजीआर (समायोजित ग्रस राजस्व) मा ब्याजको रुपमा सरकारलाई ८५० करोड रुपैयाँ दिन बाँकी छ।

टाटा टेलिसर्भिसेजले कम्पनीको यो निर्णयबारे स्टक एक्सचेन्जलाई जानकारी गराएको छ। टाटा टेलिसर्भिसेजका अनुसार कम्पनीको सञ्चालक समितिको जनवरी ११, २०२२ मा बसेको बैठकले एजीआर खातामा बाँकी रहेको ब्याज रकमलाई इक्विटीमा परिणत गर्ने निर्णय गरेको हो।

टाटा टेलिसर्भिसेजले बक्यौता रकमलाई इक्विटीमा परिणत गरी ९.५ प्रतिशत सेयर भारत सरकारलाई ४१.५० रुपैयाँ प्रति शेयरको दरले दिने भएको छ । यस निर्णयमा दूरसञ्चार विभागले अन्तिम मोहर लगाउनेछ।

यसअघि, भोडाफोन आइडियाको बोर्डले पनि भारत सरकारलाई स्पेक्ट्रम भुक्तानीको बक्यौताको किस्ता र बाँकी रहेको एजीआर (समायोजित ग्रस राजस्व) को सम्पूर्ण ब्याज रकमलाई इक्विटी (शेयर) मा रूपान्तरण गर्ने निर्णय गरेको थियो।

भोडाफोन आइडियाको सञ्चालक समितिको यो निर्णयपछि कम्पनीका सबै शेयरधनीहरुको सेयर घट्नेछ। यो निर्णयपछि भोडाफोन आइडियामा भारत सरकारको शेयर हिस्सा ३५.८ प्रतिशत हुनेछ। त्यसैगरी, कम्पनीको प्रवर्द्धक भोडाफोन समूह (भोडाफोन पीएलसी) को शेयर लगभग २८.५ प्रतिशत र आदित्य बिड्ला समूहको १७.८ प्रतिशत हुनेछ। भोडाफोन आइडियाको बोर्डले स्पेक्ट्रमको बक्यौता किस्ताको भुक्तानी र बाँकी रहेको एजीआरको सम्पूर्ण ब्याज रकम इक्विटी (शेयर) मा रूपान्तरण गर्न भारत सरकारलाई स्वीकृति दिएको छ।

भोडाफोन आइडियाको सोमबार बसेको बोर्ड बैठकले गरेको यो निर्णयको जानकारी स्टक एक्सचेन्जलाई दिएको छ। स्पेक्ट्रम र एजीआर बक्यौतामा कुल ब्याज अर्थात् नेट प्रेजेन्ट भ्यालु लगभग १६ हजार करोड भारू हुने अनुमान गरिएको छ, जुन विभागद्वारा स्वीकृत हुन बाँकी छ।

भोडाफोन आइडियाले भारत सरकारलाई १० रुपैयाँको अंकित मूल्यमा शेयर बाँड्नेछ। दूरसञ्चार विभागको स्वीकृतिपछि भोडाफोन आइडियामा भारत सरकारको शेयर ३६ प्रतिशतको हाराहारीमा पुग्नेछ जुन कम्पनीको प्रबर्द्धकभन्दा बढी हो।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...