मंगल ग्रह माथिबाट चीनको मार्स अर्बिटरले खिच्यो सेल्फी

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
मंगल ग्रह माथिबाट चीनको मार्स अर्बिटरले खिच्यो सेल्फी

काठमाडौं ।

चीनको पहिलो इन्डिपेन्डेन्ट इन्टरप्लानेटरी मिशन ‘तियानवेन-१’ ले नयाँ वर्षको पहिलो आश्चर्य दिएको छ। यो अर्बिटरले मंगल ग्रहको उत्तरी ध्रुव माथिबाट उत्कृष्ट सेल्फी लिएको छ। यी तस्बिरहरूमा, मिशनसँग जोडिएको सौर्य एन्टेनाको अतिरिक्त अर्बिटरको एक भागको क्लोजअप शट देखिन्छ। यसले मंगल ग्रहको उत्तरी भागको आइस क्याप पनि देखाएको छ।

यी उत्कृष्ट तस्विरहरू क्लिक गर्न, तियानवेन-१ ले मंगल ग्रह माथि हावामा एउटा सानो क्यामरा उडाएको थियो। क्यामराले फोटोहरूलाई वाईफाईमार्फत अर्बिटरमा पठायो र यसरी यी तस्बिरहरू प्राप्त गरियो। तियानवेन-१ले आफ्नो जुरोङ रोभरलाई मे २०२१ मा मंगल ग्रहमा अवतरण गर्न मद्दत गरेको थियो।

यी तस्विरहरूमा मंगल ग्रहको परिक्रमा गरिरहेको अन्तरिक्ष यान पनि देखिन्छ। तिनीहरूले अर्बिटरको सुनौलो शरीर देखाउँछन्। तस्बिरहरूले यसको सिल्भर हाई-गेन एन्टेना पनि देखाउँदछ, जुन सञ्चारको लागि प्रयोग गरिन्छ। सामाजिक सञ्जालमा भएका यी तस्विरहरूले मंगल ग्रहमा आफ्नो मिसन पठाउने अन्तरिक्ष एजेन्सी र अनुसन्धानमा संलग्न व्यक्तिहरूलगायत सबैलाई आकर्षित गरेका छन्।

तियानवेन-१ जुलाई २०२० मा कोभिड १९ महामारीको बीचमा शुरू गरिएको थियो। यो फेब्रुअरी २०२१ मा मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। मिसनमा अर्बिटर, ल्यान्डर र रोभर समावेश छ।

अर्बिटरको यस्तो दोस्रो उपलब्धि हो। यसअघि, तियानवेन-१ ले मंगल ग्रहमा आफ्नो बाटोमा फोटो खिच्न एउटा सानो क्यामरा तैनाथ गरेको स्पेस डटकमले रिपोर्ट गरेको छ।

तियानवेन-१ का मुख्य प्रणाली डिजाइनर सुन जेझोउले चिनियाँ स्टेट मिडियालाई अर्बिटरको आकार सही रहेको बताए। सोलार प्यानल विङ्ग, दिशात्मक एन्टेना र केहि अन्य एन्टेनासंग, यो मंगल ग्रह वरिपरि उडिरहेको देख्न सकिन्छ।

‘तियानवेन-१’ मंगल ग्रहमा चीनको पहिलो अन्वेषण अभियान हो। यसको लक्ष्य मंगल ग्रहको आकारविज्ञान र भूविज्ञान नक्सांकन गर्नु हो। यसले मंगल ग्रहको आयनोस्फियर, विद्युत चुम्बकीय र गुरुत्वाकर्षण क्षेत्रहरूको पनि अध्ययन गर्नेछ। यसले पृथ्वीबाट जानकारी पठाउन र प्राप्त गर्न रोभरको लागि सञ्चार रिले केन्द्रको रूपमा पनि काम गर्नेछ। यस मिसनबाट चिनियाँ वैज्ञानिकहरूले मंगल ग्रहमा पानी वा बरफको थप प्रमाण फेला पार्ने आशा गरेका छन्।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...