हिम इलेक्ट्रोनिक्सका कर्मचारीको दुर्व्यवहार विरुद्ध हेटौंडाको सामसङ सर्भिसमा तालाबन्दी

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
हिम इलेक्ट्रोनिक्सका कर्मचारीको दुर्व्यवहार विरुद्ध हेटौंडाको सामसङ सर्भिसमा तालाबन्दी

काठमाडौं ।

मोबाईल एसोसिएसन अफ नेपाल, म्यान मकवानपुरले हेटौंडा ४ स्थित नारायणी महलमा रहेको सामसङ सर्भिसमा तालाबन्दी गरेको छ।

हिम इलेक्ट्रोनिक्स प्रालिका बजार प्रतिनिधि उमेश थापाले म्यान मकवानपुरलाई सामाजिक संजालमा म्यानको मानहानी गर्दै अनावश्यक र कपोकल्पित रुपमा घेराबन्दी गरी आफुलाई ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै म्यान मकवानपुरले सामसङ सर्भिसमा तालाबन्दी गरेको म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाले बताए ।

अध्यक्ष लामाले म्यानले एक महिना अघि हेटौंडा १० स्थित शिब मोबाईल र इलोक्ट्रोनिक्सका प्रतिनिधि बिचको विवादलाई वार्ता गराउने क्रमलाई लिएर इलोक्ट्रोनिक्सका बजार प्रतिनिधि थापाले सामाजिक संजालमार्फत म्यानको मानहानी गर्दै अनावश्यक टिका टिप्पणी गरेको बताए ।

उनले मोबाईलका प्रतिनिधिले दिएको निवेदनमा म्यानले दुबै पक्षलाई राखेर विवाद मिलाउने क्रममा बजार प्रतिनिधि थापाले म्यानको मानहानी गरेको भन्दै शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आईतबार सामसङ सर्भिसमा तालाबन्दी गर्नुपरेको बताए।

उनले तालाबन्दी गर्नु अघि केहि हप्ता अघि सामसङ कम्पनीलाई इमेल मार्फत घटनाक्रम जानकारी गराएको तर कम्पनीले समस्या समाधान तर्फ नगई जवाफमा बजार प्रतिनिधिलाई तलमाथि भएको अवस्थामा म्यानले जिम्मेवारी लिनुपर्ने जवाफ दिएपछि समस्याको समाधानको लागि तालाबन्दी गर्नुपरेको बताए ।

उनले म्यानको मानहानी गर्ने अभिव्यक्ति दिने थापालाई हेटौंडाबाट सरुवा गर्नु पर्ने र सामसङ कम्पनीले लिखित माफी माग्नुपर्ने आफुहरुको माग रहेको बताए। उनले कम्पनीले लिखित माफी नमागेको अवस्थामा जिल्लामा सामसङ मोबाईल प्रतिबन्ध गर्ने चेतावनी समेत दिए ।

अध्यक्ष लामाले आन्दोलनको कार्यक्रम को चरणमा ४८ घण्टा भित्र चित्त बुझ्दो जवाफ नआए जिल्ला भित्रको सामसङ मोबाईलको बिक्री प्रतिनिधि तथा बजार प्रतिनिधिहरु बहिस्कार गर्ने बताए।

यसैगरी,उनले तेस्रो चरणमा सामसङ मोबाइल एक हप्ताको लागि सबै पसलहरुमा डिस्प्ले बन्द गरिने बताए । उनले दुई चरणको आन्दोलनको कार्यहरुसम्म पनि समस्याको समाधान नभएको अवस्थामा पुनः कार्यसमितिको बैठक बसेर तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने बताए ।

तालाबन्दी गर्नु अघि म्यान मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

तालाबन्दी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका तेजराज अधिकारी,व्यवसायी महेन्द्र राउत, म्यान मकवानपुरका पदाधिकारी लगायत करिब एक सय मोबाईल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसैबीच नेपाल मोबाईल व्यवसायी महासंघले सो विषयलाई कम्पनी लगायतका सरोकारबाला पक्षले सम्बोधन नगरेको भन्दै आपत्ति व्यक्त गरेको छ। महासंघले त्यसमा तत्काल पहल गर्न र हिम इलोक्ट्रोनिक्सको तर्फबाट समस्या समाधान गर्न आग्रह गरेको छ।

नत्र सो विवादले देशभर सामसङ र हिम इलोक्ट्रोनिक्सको व्यवसायमा असर पार्ने तर्फ समेत सचेत गराएको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार