एससीटीका कार्ड एटीएममा नचलेको ग्राहकको गुनासो, सिस्टम अपडेट गरिरहेको कम्पनीको भनाई

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
एससीटीका कार्ड एटीएममा नचलेको ग्राहकको गुनासो, सिस्टम अपडेट गरिरहेको कम्पनीको भनाई

काठमाडौं ।

एससीटी नेटवर्कमा भएका बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीहरुले आज सो नेटवर्कको कार्ड एटीएम नचलेको गुनासो गरेका छन्। उनीहरुले पटक पटक एटिएममा कार्ड प्रयोग गर्दा अन्य प्रकृया सबै पुरा गर्न देखाउने तर रकम झिक्ने बेलामा भने कार्डमा समस्या भएको देखाउने गरेको बताए।

विशेषगरी प्रभु बैंकको एससीटी नेटवर्कमा भएका कार्ड बाहकहरुले यस्तो समस्या धेरै भोगेको गुनासो गरे।

सो बैंकको केन्द्रिय कार्यालयमा एटीएम प्रयोग गर्न आएका एक ग्राहकले रकम झिक्ने बेलामा समस्या देखाएको बताए।

“सबै प्रकृया पुरा गरेपछि रकम झिक्ने बेलामा समस्या छ भनेर ‘सरी’ भनेर देखायो। मेरो रकम सेलेक्ट गरेर विथड्र गर्ने बेलामा रकम काटिएको जिम्मा अब कस्ले लिन्छ ?” उनले भने।

तर यो समस्या आज र भोलीसम्म आफ्नो नेटवर्कमा भएका सबै बैंक तथा वित्तीय संस्थाहरुमा आउने स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडले जनाएको छ। कम्पनीले सार्वजनिक सूचना नै जारी गरेर आफ्नो सफ्टवेयर अपडेट गर्न लागेको र सो क्रममा एससीटीका कार्डहरु एटिएममा नचल्ने जानकारी दिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले आज र भोली सिस्टम अपग्रेड गरिरहेको भन्दै त्यसमा ग्राहकहरुलाई सूचित गरिएको बताए।

“हामीले आफ्नो सिस्टम अपग्रेड गरिरहेका छौं। आज रातभरी र भोली सकेसम्म छिटै कार्डहरु चल्ने गरी काम गरिरहेका छौं,” प्रमुख कार्यकारी अधिकृत भुजुले टेक्नोलोजीखबरसँग भने, “हामीले सबै नियमनकारी निकाय र बैंकहरुलाई समेत जानकारी दिएका छौं भने सार्वजनिक सूचना नै जारी गरेका छौं।”

उनले सो अवधिसम्म एससीटीका कार्डहरु अन्य नेटवर्कमा समेत नचल्ने समस्या आउने तर अन्य नेटवर्कका कार्डहरु भने आफ्नो बैंकका नेटवर्क भएका एटीएममा चल्ने बताए।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...